स्थायी निक्षेप साताको तीन दिन राख्न पाइने, सर्तहरुमा लचकताकासँगै न्यूनतम सीमा १० करोड

0
Shares

बैंक तथा वित्तीय संस्थाले अबदेखि एक सातामा तीन दिन स्थायी निक्षेप सुविधा उपभोग गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले खुलाबजार कारोबार सम्बन्धी कार्यविधि संशोधन गर्दै स्थायी निक्षेपलाई थप सहज बनाएको हो ।

केन्द्रीय बैंकले यसभन्दा अघि साताको २ दिन उपभोग गर्न सक्ने स्थायी निक्षेप सुविधालाई बढाएर साताको तीन दिन बनाएको हो । संशोधित व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले साताको आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्छन् । यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाले साताको दुई दिन अर्थात आइतबार र बुधबार मात्रै स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्ने व्यवस्था थियो ।

वित्तीय क्षेत्रका बढेको तरलता व्यवस्थापन र व्याजदर करिडोरको कार्यान्वयन प्रभावकारी नभएपनि केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत स्थायी निक्षेप सुविधा सम्बन्धित व्यवस्थाहरुमा पुनरावलोकन गर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले कार्यविधि संसोधन गरेर स्थायी निक्षेप सम्बन्धी व्यवस्थाहरुलाई खुकुलो बनाएको हो ।

संशोधित कार्यविधि अनुसार केन्द्रीय बैंक स्थायी निक्षेप सुविधा उपभोगका लागि तोकका सर्तहरुमा समेत लचकता अपनाएको छ । संशोधित कार्यविधि अनुसार कर्जा निक्षेप अनुपात तथा तरलता सम्पत्तीको शर्त हटाएको छ । नयाँ व्यवस्था अनुसार स्वदेशी मुद्रामा लिएको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको र स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंक तथा व्त्तिीय संस्थाले स्थायी नक्षिेप सुविधा प्रयोग गर्न सक्छन् ।

साथै केन्द्रीय बैंकले स्थायीे निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो सीमा न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने थियो ।

त्यसैगरी केन्द्रीय बैंकले एक सातामा स्थायी निक्षेप सुविधा आइतबार, मङ्गलबार र बिहीबार प्रदान गर्ने छ । उक्त दिन सार्वजनिक विदा परेमा त्यसपछि कार्यालय खुलेको दिनमा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसभन्दा अघि साता दुई पटक आइतबार र बुधबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्ने व्यवस्था थियो । यसरी स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्क हुने अवधि ४ दिन तोकेको थियो ।

नयाँ व्यवस्था अनुसार आइतबार प्रदान गरिएको सुविधा मङ्गलबार, मङ्गलबार प्रदान गरिएको सुविधा बिहीबार र बिहीबार प्रदान गरिएको सुविधा आइतबार परिपक्व भई भुक्तानी गर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले जनाएको छ । तर भुक्तानी मितिमा बैंक विदा पर्ने अवस्थामा विदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गर्न सकिने छ । केन्द्रीय बैंकले यसभन्दा अघि स्थायी निक्षेप सुविधा दिनमा एक पटक मात्र दिने व्यवस्था तोकेको भएपनि संशोधित कार्यविधि अनुसार एक दिनमा एक वा सो भन्दा धेरै पटक लिन पाउने नपाउने विषयमा भने बोलेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।