स्वावलम्बन लघुवित्तले कमायो साढे २६ करोड नाफा, अन्य सूचकमा पनि उत्साहप्रद सुधार

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा अधिकांश सूचकहरुमा प्रगति गरेको यस लघुवित्तको प्रगतिले लगानीकर्तालाई उत्साहित बनाएको छ ।

गत आवको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ५३.८२ प्रतिशतले बढेको हो, गत आवको यसै अवधिमा १७ करोड १९ लाख मात्र नाफा थियो। व्यवसाय विस्तारबाट खुद ब्याज आम्दानी तथा आम्दानीहरु अन्य सूचकहरु समेत बढेपछि लघुवित्तको खुद नाफामा उच्च सुधार देखिएको हो। लघुवित्तको शुल्क कमिसन आय, अन्य सञ्चालन आम्दानी पनि बढेको छ।

चुक्ता पूँजी ७९ करोड २३ लाख रुपैयाँ रहेको यस लघुवित्तको प्रतिशेयर आम्दानी ६६.७६ रुपैयाँ कायम भएको छ। एक वर्षको अवधिमा इपिएसमा १२.८० रुपैयाँले सुधार भएको हो।

लघुवित्तको जगेडा कोषको आकार ८७ करोड ४४ लाखबाट बढेर १ अर्ब २८ करोड ९ लाख रुपैयाँमा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २६१.६५ रुपैयाँ कायम हुँदा मूल्य आम्दानी अनुपात १४.६७ गुणा छ।

पुस मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ५७ करोड २९ लाख निक्षेप संकलन र ६ अर्ब ३० करोड ८८ लाख रुपैयाँ सापटीबाट आफ्ना ऋणीहरुमा १५ अर्ब ५५ करोड ८५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले ६४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी ५० करोड ५२ लाख थियो। लघुवित्तको सञ्चालन नाफा २६ करोड ९१ लाखबाट १५ करोड ६ लाख रुपैयाँ बढेर ४१ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

वित्तीय विवरण अनुसार लघुवित्तको खराब कर्जा अनुपात ०.३४ बिन्दुले बढेर १.३७ प्रतिशत पुगेको छ। यस्तै लघुवित्तको पूँजीकोष अनुपाचत ८.९१ प्रतिशत, कोषको लागत ९.४७ प्रतिशत, तरलता अनुपात १२ प्रतिशत रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य २ हजार २६४ रुपैयाँ रहेको छ।