कालिगढलाई बचाउन र भन्सार दर घटाउन माग गर्दै सुनचाँदी व्यवसायीहरु आन्दोलनमा


काठमाण्डौंका सुनचाँदी व्यवसायीले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । बुधवार उनीहरुले ‘सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१’को नाम दिँदै राष्ट्र बैंकको उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेका हुन्।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो । तर व्यापारीले भन्सार महँगो परेको भन्दै विरोध गरेका हुन् ।

सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पु¥याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरूको दाबी छ । भन्सार तिरेर सुन ल्याउँदा धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले सो निर्णय फिर्ता लिन माग गरेका छन् ।

यस्तै, सुन चाँदी व्यवसायीहरुले सरकारले कालीगढलाई प्रोत्साहन गर्दै न्यूनतम पारिश्रमिक लागु गरिनुपर्ने बताएका छन् । व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरुले व्यवसायी र कालिगढलाई विस्थापित गर्न पाइदैन, तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि निति खारेज गर, वर्षौदेखि रोकिएको सुन चाँदीको निति नियम निर्देशिका तुरुन्त लागू गर, पुरानै भन्सार दर लागु गर लगायतका प्ले कार्ड बोकी आन्दोलन गरेका हुन् ।

व्यवसायिक क्षेत्रमा विचलन आएको हुँदा विभिन्न संघ संस्थाहरुले आन्दोलनबाट समस्याको समाधान हुन्छ भन्ने धारणाका साथ विरोध कार्यक्रम गरिएको नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले बताए ।

यो विषयमा बिहीबार सरकारको ध्यानाकर्षक गराउने बताउँदै उनले सम्बन्धित निकायले वेवास्ता गरेमा महासंघको अगुवाईमा चरणबद्ध आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।