महालक्ष्मी विकास बैंकको खराब कर्जामा आकर्षक सुधार, नाफा ५४.३५ प्रतिशतले बढ्यो

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आफ्नो खराब कर्जा अनुपातमा उल्लेख्य सुधार गरेको छ । यसअघि खराब कर्जा वापत प्रोभिजिनिङ्गका कारण बैंकको मुनाफा प्रभावित हुँदै आएकोमा बैंकले खराब कर्जा घटाउँदै लगेको हो।

वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात ४.४१ बाट १.६५ बिन्दुले सुधार भई २.७६ प्रतिशतमा झरेको छ । यद्यपी बैंक तथा वित्तीय संस्थाहरुमा १ प्रतिशत वा सो भन्दा कम मात्र यस्तो अनुपात हुनु राम्रो मानिन्छ।

पुस मसान्तसम्ममा बैंकको खुद नाफा ३० करोड ५० लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा १९ करोड ७६ लाख ४६ हजार रहेको बैंकको नाफा ५४.३५ प्रतिशतले बढेको हो।

बैंकले ६ महिनामा वितरणयोग्य नाफा २१ करोड १३ लाख १५ हजार रुपैयाँ आर्जन गरेकाले वार्षिक १३.७५ प्रतिशत लाभांश क्षमता कायम भएको छ।

चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ५.९६ ले बढेर १९.८६ रुपैयाँ कायम भएको छ। यस्तै जगेडा कोषको आकार १ अर्ब ३१ करोड ४३ लाखबाट १ अर्ब ४० करोड ८१ लाख रुपैयाँमा वृद्धि गरेको छ। बैंकको शेयरधनी कोष भने लाभांश वितरणपछि ५१ करोड ३ लाखबाट स)कुचित भई २१ करोड २६ लाख ८९ हजारमा सीमित भएको छ।

पुस मसान्तसम्ममा बैंकले ३५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २९ अर्ब १८ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। पुस मसान्तसम्ममा बैंकले गत आवको यसै अवधिको तुलनामा १७ करोड ४२ लाख रुपैयाँ बढाएर ८० करोड ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा पनि ४२ करोड ७० लाख पुगेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ५० लाख बढी हो।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७६ पैसा, पूँजीकोष अनुपात १२.५४ प्रतिशत, कोषको लागत ८.४४ प्रतिशत, आधार ब्याजदर ११.२३ प्रतिशत, स्प्रेडदर ५.३३ प्रतिशत र मूल्य आम्दानी अनुपात ९.७७ गुणा छ।