रिलायन्स स्पिनिङको आईपीओ स्वीकृत, ५० कित्ता भर्न ४१ हजार चाहिने

0
Shares

रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा दरमा ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ जारी गर्न अनुमति दिएको हो ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न कम्पनीले यसअघि नै गत माघमा संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरी बाडँफाँड गरिसकेको छ । उक्त सेयरमा ११ लाख भन्दा बढी कित्ता सेयरको माग भएकोमा कट अफ प्राइस ९१२ रुपैयाँ कायम भएको थियो । बुक बिल्डिङ विधि अनुसार योग्य संस्थागत लगानीकर्ताबाट कायम भएको कटअफ प्राइसको १० प्रतिशत डिस्काउन्टमा सर्वसाधारणले सेयर जारी गर्नुपर्ने प्रावधान छ । जसअनुसार प्रतिसेयर ८२० रुपैयाँ ८० पैसामा रिलायन्स स्पिनिङको सेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

सर्वसाधारणको लागि छुट्याएको जारी पुँजीको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता सेयरले हुन आउने ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको आईपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो । बुकबिल्डिङ्ग विधि अनुसार न्यूनतम ५० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने प्रावधान अनुसार अब लगानीकर्ताले आईपीओ भर्न प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ । सेयर बाँडफाँड पनि न्यूनतम ५० कित्ताका आधारमा हुनेछ । जसअनुसार २३ हजार ११९ जनाले सेयर हात पार्नेछन् । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुका लागि सेयर निष्कासन हुनेछ भने सो सेयर बाँडफाँडपछि मात्रै दोस्रो चरणमा आम सर्वसाधारणमा सेयर बिक्री खुला हुनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो । सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो ।

रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा पहिलो कम्पनीको रुपमा आईपीओ बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।