महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले उक्त कित्ता सेयर संस्थापक सेयरधनी लगायत जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन पाउने गरी बिक्री खुलाएको हो ।

शेयर प्रति कित्ता न्युनतम मूल्य ७०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्ने बताइएको छ ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर ७०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १० को गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन ।

निष्काशन गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरीदका लागि दरखास्त नपरे पनि निवेदन परेको शेयर सम्बन्धित निवेदकलाई बाँडफाँड गरी बाँकी रहेको शेयर पूनः लिलाम बढाबढ गरी बिक्री गरिने कम्पनीले जनाएको छ । शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्ने तथा बोलपत्र आवेदन तथा शेयर बाँडफाँड सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार बिक्री गर्ने संस्थापक शेयरधनीमा निहित रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।