जुन महिनामा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक


सन् २०२४ को जुनमा मात्र ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा ४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

यो संख्या गत वर्षको यही महिनाको तुलनामा ६ प्रतिशतले बढी हो । गत वर्ष ७२ हजार पाँच सय पर्यटक नेपाल भित्रिएकामा सन् २०१९ मा ७४ हजार आठ सय पर्यटन नेपाल घुम्न आएका थिए ।

सन् २०२३ को जुनमा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट ८ हजार २८१, चीनबाट ७ हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

बङ्गलादेशबाट ३ हजार ८५७, बेलायतबाट १९ सय ६९, अष्ट्रेलियाबाट १५ सय ८९, भुटानबाट १ हजार ६६, मलेसियाबाट १ हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार ८८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।