रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा असार २७ गतेदेखि आवेदन दिन सकिने


रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर असार २७ गतेदेखि निष्काशन गर्न लागेको हो।

उक्त आइपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले मात्र रहेकोले मात्र आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, बुक बिल्डिङ विधि अनुसार योग्य संस्थागत लगानीकर्ताबाट कायम भएको कटअफ प्राइसको १० प्रतिशत डिस्काउन्टमा सर्वसाधारणले सेयर जारी गर्नुपर्ने प्रावधान छ । जसअनुसार प्रतिसेयर ८२० रुपैयाँ ८० पैसामा रिलायन्स स्पिनिङको सेयर बिक्रीमा आउने भएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले असार २७ गतेदेखि  साउन १० गतेसम्म कम्पनीको शेयरमा आवेदन दिनु पर्नेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी भन्ने बुझिन्छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा पहिलो कम्पनीको रुपमा आईपीओ बिक्री गरेको थियो ।

कस्तो छ कम्पनीको अवस्था ?

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब १० करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी गत आव (२०७९/८०) मा घटेर १० अर्ब ६० लाख पुगेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको आम्दानी गत आवमा ९ करोड ९० लाखले घटेको हो ।

सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पीनिङ मिल्स नेपालको सबैभन्दा ठूलो गार्मेन्ट उद्योग हो । कम्पनीले उत्पादन गर्ने पोलीस्टर, भिस्कोज, एक्राइलिक तथा बेलेन्डेड र्यान, कटन नेपालमा मात्रै नभई भारत र टर्कीमा समेत राम्रो बिक्री हुँदै आएको छ ।

गत आवमा कम्पनीले गरेको कुल आम्दानी मध्ये ७६ प्रतिशत आम्दानी भारत र टर्कीबाट हुँदै आएको छ । भारतबाट मात्रै कम्पनीले कुल आम्दानीको १३ प्रतिशत आम्दानी गरेको छ ।

हाल कम्पनीले सुनसरीको कहर र दुहाबीमा गरी दुई फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । सन् २०२३ को अप्रिल महिनादेखि कम्पनीका दुई वटा उत्पादन प्लान्टहरु सञ्चालनमा आएका छन् । अन्तर्राष्ट्रिय बजारमा सिन्थेटिक र कटन र्यानको माग बढ्दै जाँदा कम्पनीले २ अर्ब ७० करोड लगानीमा ८ हजार २८० मेट्रिक टन उत्पादन क्षमता सहितको प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको छ । यससँगै कम्पनीको उत्पादन क्षमता वार्षिक रुपमा ४२ हजार ७५० मेट्रिक टन पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।