ग्रीन डेभलपमेन्ट बैंकको ब्याज आम्दानी बढ्दापनि नाफा घट्यो

0
Shares

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) को चालु आवको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी बढ्दापनि नाफा भने घटेको छ । उच्च बढेको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्चका कारण बैंकको मुनाफा प्रभावित बनेको हो।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ३.७७ प्रतिशत थोरै हो।

बैंकले खुद ब्याज आम्दानी भने दोस्रो त्रैमाससम्म ४ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको यस्तो आम्दानी ३ करोड २ लाख रुपैयाँ मात्र थियो ।

कर्मचारी खर्च ९२ लाखबाट १ करोड ७० लाखमा र अन्य सञ्चालन खर्च ३४ लाखबाट ९४ लाखमा बढ्दा बैंकको सञ्चालन मुनाफा समेत घटेको छ । गत आवको यसै अवधिमा १ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकको १ करोड ४८ लाखमा झरेको हो।

पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ४९ करोडले घटेको छ भने कर्जा लगानी १३ करोडले बढेको छ ।

चुक्ता पूँजी ५० करोड रहेको वार्षिक प्रतिशेयर आम्दानी ४.१७ रुपैयाँ, कोषको लागत ९.०१ प्रतिशत, आधार ब्याजदर १३.८४, खराब कर्जा अनुपात २.३२ प्रतिशत रहेको छ।

गत वर्ष यही अवधिसम्म १ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकर बढेर १ करोड ९२ लाख रुपैयाँ जम्मा भएको छ । शेयरधनीकोषमा ७२ लाख ९२ हजार रुपैयाँ र शेयर प्रिमियम ५० लाख सञ्चित छ।