मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द


बाजुरा जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिए ।

वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । मार्तडी–कोल्टी सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ ।

साँफे–मार्तडी राजमार्ग अवरुद्ध
लगातारको वर्षाका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिए ।

राजमार्गको सेराबगर, हड्डेखोला र जिल्ला कारागार नजिकै पहिरो गएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन र मालवाहक गाडी बाटोमै थन्किएका छन् ।

राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।