प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत लिँदै छन् । सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा सहभागी दल एमालेले समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । नियुक्त भएको डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि चार पटकसम्म प्रधानमन्त्रीले सदनमा विश्वासको मत पाएका थिए ।

एमालेको समर्थन फिर्तापछि असार २१ गते संसद्मा पत्राचार गर्दै प्रधानमन्त्रीले विश्वासको मतको कार्यसूची अगाडि बढाइदिन आग्रह गरेका हुन् । सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । यस पटक प्रधानमन्त्रीलाई आफ्नो दल माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को साथ रहेको छ । दुई ठुला दल कांग्रेस, एमाले विपक्षमा उभिने निश्चित हुँदा प्रधानमन्त्रीलाई सदनको बहुमत पु¥याउन आवश्यक १३८ सङ्ख्या पुग्न भने सम्भव छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।