आफूमाथि लगाइएको नीतिगत भ्रष्टाचारको आरोप पुष्टि गर्न अर्थमन्त्री पुनको चुनौती


अर्थमन्त्री वर्षमान पुनले चार दलका राष्ट्रियसभा सदस्यहरूले जारी गरेको प्रेस विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा लगाइएका निराधार, कपोलकल्पित र राजनीतिक आग्रह प्रेरित आरोपमा कुनै सत्यता नरहेको उनले बताएका हुन् । उनले आफुमाथि लगाइएका आरोप पुष्टि गर्न समेत चेतावनी दिएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठक स्थगित भएपछि प्रतिपक्षीमा रहेका दलहरूले अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गर्न लागेको पोल खुल्ने भएपछि बैठक सूचना टाँसेर स्थगित गरेको आरोप लगाएका थिए ।

एमाले प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा सचेतक मृगेन्द्रकुमार सिंह र लोसपा दलको नेता शेखरकुमार सिंहले एक विज्ञप्तिमार्फत अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गर्न लागेको पोल खुल्ने भएपछि राष्ट्रियसभा बैठक स्थगित गरिएको आरोप लगाएका थिए ।

उनीहरूले वक्तव्यमा अर्थमन्त्री पुनले गम्भीर असहति र आपत्ति जनाएको उनका प्रेस सल्लाहकार दयानिधि भट्टले बताएका छन् । ‘विज्ञप्तिमा लगाइएका निराधार, कपोलकल्पित र राजनीतिक आग्रह प्रेरित आरोपमा कुनै सत्यता नरहेको स्पष्ट गर्दै माननीय मन्त्रीज्यूका तर्फबाट आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु,’उनले भनेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।