एनएमबी बैंकको खुद नाफा ४७% ले बढ्यो, वितरण योग्य एक अर्ब ११ करोड

0
Shares

एनएमबी बैंक (NMB) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७ प्रतिशत भन्दा धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको सञ्चालन मुनाफा तथा खुद ब्याज आम्दानीमा सुधार भएपछि नाफा बढेको हो। नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १८ ले बढेर ३० रुपैयाँ ४० पैसा पुगेको छ।

बैंकको ६ महिनाको वितरण योग्य नाफा एक अर्ब ११ करोड रुपैयाँ छ। यसबाट बैंकले आफ्ना शेयरधनीलाई वार्षिक १९.३६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता कायम भएको छ। एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब २६ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १३ अर्ब ६३ करोड कर्जा लगानी गरेको छ। जसबाट बैंकले २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ५१ करोड ४८ लाख रुपैयाँ छ।

११ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड १५ लाख रुपैयाँ, शेयरधनी कोषमा २ अर्ब ४५ करोड ६५ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७६ प्रतिशतबाट बढेर १.९६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने १७ रुपैयाँ १६ पैसा घटेर १८८ रुपैयाँ ५५ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी ११.८१ गुणा छ।

बैंकको कोषको लागत केहि बढेर ७.७० प्रतिशत पुगेको छ। जसको आधारदर १०.१२ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.५५ प्रतिशत छ।