त्रिशूलीमा बेपत्ता तीनजनाको शव फेला


नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोले बगाएको बसका बेपत्ता यात्रुमध्ये तीनजनाको शव भेटिएको छ । तीन शव भेटिएको र दुईजनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहारका २८ वर्षीय ऋषिपल साहको पहिचान खुलेको हो । साहको शव शनिबार बिहान ११ बजे भेटिएको थियो । माझीको शव साँझ भेटिएको हो । माझीका बुवा रवीन्द्रकिशोर र साहका दाजुले सनाखत गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट रौतहटको गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

सुरुकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ । तर, अँध्यारो भएकाले साँझदेखि खोजीको काम रोकिएको छ । आइतबार बिहान ७ बजेदेखि पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार, आइतबार गृहसचिवसहितका सुरक्षा निकायका प्रमुखले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।

शुक्रबार काठमाडौंबाट गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र पर्साको वीरगन्जबाट काठमाडौंतर्फ जाँदैै गरेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । गौर जान आउँदै गरेको बसमा २७ र काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ असार २०८१, आइतबार  ०६ : ०४ बजे