सिटिजन्स बैंकले ८.९९ प्रतिशतमा नै घर कर्जा दिने


सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१\८२ को शुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ सात वर्षे अवधिको लागि घर कर्जा योजना ल्याएको छ ।

कम्पनीले सो अवधिका लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना मंगलबार सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने छ । ७ वर्षपछि भने कम्पनीको प्रचलित औसत मासिक आधार दरमा एक प्रतिशत प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा कम्पनीका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले बताएका छन् ।

उक्त आकर्षक योजनामा सहभागी हुनका लागि नजिकको पायक पर्ने कुनै पनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सकिने कम्पनीले बताएको छ ।यसघर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड,डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छूट छ । कम्पनीले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिंदै आएको बताएको छ । यसका साथै कम्पनीले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको कार्यालय भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, ३ विस्तारित काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।