ताप्लेजुङमा १८ करोड ७२ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०\८१ मा १८ करोड ७२ लाख १६ हजार सात सय ९३ राजस्व सङ्कलन भएको हो ।
जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षमा गरेको प्रगति समीक्षाअनुसार सङ्घतर्फ ९२ दशमलव शून्य दुई र प्रदेशतर्फ ८५ दशमलव ६४ प्रतिशत प्रगति भएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रदेशतर्फको कूल बजेट ६२ करोड ८७ लाख ५३ हजार एक सय आठ रुपैयाँ रहेको थियो । त्यसमा पुँजीगततर्फ २० करोड ९० लाख दुई हजार रुपैयाँ र चालुतर्फ ४२ करोड ९७ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
पुँजीगततर्फ ९४ दशमलव २५ र चालुतर्फ ८१ दशमलव २५ प्रतिशत प्रगति भएको आचार्यले बताए । प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, खानेपानी तथा सरसफाइ डिभिजन, जिल्ला आयुर्वेदलगायत कार्यालय रहेका छन् ।
सङ्घतर्फको बजेटचार अर्ब ९९ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको थियो । त्यसमा पुँजीगततर्फ ६० करोड ११ लाख ३० हजार रुपैयाँ र चालुतर्फ चार अर्ब ३९ करोड ५१ लाख नौ हजार रुपैयाँ रहेको थियो । पुँजीगततर्फ ७३ दशमलव २० र चालुतर्फ ९४ दशमलव ६० प्रतिशत प्रगति भएको आचार्यले जानकारी दिए ।
सङ्घतर्फका कार्यालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सडक, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, सुरक्षा निकायलगायत कार्यालय रहेका छन् । जिल्लामा सङ्घ र प्रदेशअन्तर्गतका ३७ कार्यालय रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया