उपसभामुखको विषय देशकै प्रतिष्ठासँग जाडिएको विषय हो, छानबिन हुनुपर्छ : मुकुल ढकाल


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको विषय पार्टी मात्रको विषय नभइ देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनपर्ने बताएका छन् ।

मंगलबार सामाजिक संञ्जालमा पोष्ट गर्दै उनले उपसभामुखको विषय पार्टी मात्रको विषय नभइ राज्यको उपल्लो तहको विषय भएको बताएका हुन् ।

आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको ढकालले बताएका छन् ।

उनले लेखेका छन्, “मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु अझै पनि , ती ५ जनालाई खोजी गरि तीनिहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले यस विषयमा के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण दिन तयार छु ।”

उनले आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले आरोप लगाएका छन् । यस्तै उनले एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको बताएका छन् । 

उनले भनेका छन्, “खबर प्राप्त गर्नेबित्तिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सहकोषाध्यक्ष दीपक बोहोरासम्म कुरा पुर्‍याएको हो ।”

ढकालले इलाममा उपचुनावका बेला भएकाले त्यसपछि आफू समीक्षायात्रामा निस्किएको र त्यसपछिको अवस्थाका बारेमा सबैलाई जानकारी भएको बताएका छ्न । उनले ९ लाख रुपैयाँ उपसभामुखको सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको बताएका छन् ।

ढकालले लेखेका छन्, “९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछी पिडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पिडितसँग सुरक्षित छ ।” ढकालले उपसभामुखले तत्काल राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।