एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन


ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड रुपैयाँ भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै रु एक करोड छ लाख ४३ हजार एक सय ७२ भेटी सङ्कलन भएको थियो ।

पुसमा ३५ लाख २९ हजार रुपैयाँ, माघमा २४ लाख एक हजार पाँच सय रुपैयाँ र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० रुपैयाँ भेटी सङ्कलन भएको समितिले जनाएको छ ।

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैत मात्र ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी सङ्कलन भएको उनले जानकारी दिए ।

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ रुपैयाँ र असारमा १६ लाख ८८ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको उल्लेख गरिएको छ ।

गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।