मर्चेन्ट बैंकर र ब्रोकरलाई पनि सञ्चितकोषको व्यवस्था, कार्यक्षेत्र विस्तार

0
Shares

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर र धितोपत्र दलाल कम्पनीहरुलाई पनि अनिवार्य सञ्चित कोषको व्यवस्था गरेको छ ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्रदलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ लाई संशोधन गरी दलाल कम्पनीले पनि सञ्चित कोष राख्नुपर्ने व्यवस्था गरेको हो ।

यसभन्दा अघि मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल कम्पनीले सञ्चित कोषको व्यवस्था गर्नु पर्दैनथ्यो । बोर्डले धितोपत्र दलाल कम्पनीलाई पनि व्यवसायिक र सक्षम बनाउनका लागि सञ्चितकोषको अनिवार्य व्यवस्था गरेको हो ।

हाल सञ्चालनमा रहेका ५० दलाल कम्पनीमध्ये केहीले सञ्चितकोषको व्यवस्था गरेको भएपनि अधिकासंले यस्तो कोषको व्यवस्था गरेका छैनन् । धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताको लागि जगेडाकोष राख्नुपर्ने व्यवस्था गरेको संशोधित नियमावलीमा उल्लेख छ ।

धितोपत्र बोर्डले नियमावली संशोधन गरेर दलाल कम्पनीले पनि सञ्चित कोष राख्नु पर्ने व्यवस्था गरेको छ । बोर्डले गरेको यो व्यवस्था आगामी फागुन महिनादेखि लागू हुनेछ । तर, सञ्चितकोषमा जम्मा हुने रकमको विषयमा भने स्पष्ट व्यवस्था गरेको छैन् ।

सामान्य बैंक वित्तीय संस्थाको अभ्यासलाई हेर्दा बैंक वित्तीय संस्थाले हरेक वर्षको खुद नाफावाट सञ्चितकोषमा कुल नाफाको करिब २१ प्रतिशत रकम राख्ने गरेका छन् । सोही अभ्यासलाई हेर्दा पनि धितोपत्र दलाल कम्पनीले पनि नाफाको २० प्रतिशत रकम सञ्चितकोषमा राख्नु पर्ने हुन्छ ।

यो व्यवस्थाले धितोपत्र दलाल कम्पनीहरुको वित्तीय आधार बलीयो हुने तथा संस्थागत विकास पनि हुने धितोपत्र बोर्डको अपेक्षा रहेको छ ।

बोर्डले धितोपत्र दलाल कम्पनीको कार्यक्षेत्रमा समेत विस्तार गरेर सञ्चित राख्नुपर्ने व्यवस्था गरेको हो । संशोधित नियमावली अनुसार धितोपत्र दलाल कम्पनीले मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने तथा धितोपत्र व्यापारीले धितोपत्र दलाल, योग्य संस्थागत लगानीकर्ता र धितोपत्र प्रत्याभूतिकर्ताको कार्य गर्न सक्ने व्यवस्था थप गरेको छ ।

त्यसैगरी बोर्डले धितोपत्रव्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ संशोधन गरी मर्चेन्ट बैकरले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताको लागि जगेडाकोष राख्नुपर्ने व्यवस्था थप गरिएको बोर्डले जनाएको छ ।

मर्चेन्ट बैंकरको शेयर बिक्री वा हस्तान्तरण हुँदा वा अन्य कुनै प्रकारले नयाँ शेयरधनी थप गर्नु पूर्व बोर्डमा अभिलेख गराउँदा अंकित मूल्यको सट्टामा बिक्री मूल्यमा गराउनु पर्ने व्यवस्था गरी थप पारदर्शी बनाइएको तथा मर्चेन्ट बैकरले गर्ने पाँच प्रकारका व्यवसायमध्ये कुनै व्यवसाय थप तथा व्यवसाय छाड्ने सम्बन्धी व्यवस्थालाई व्यवस्थित गरिएको समेत बोर्डले जनाएको छ ।

यसभन्दा अघि मर्चेन्ट बैंकरले पनि सञ्चित कोषमा अनिवार्य रकम राख्नुपर्ने औपचारीक व्यवस्था भने थिएन । मर्चेन्ट बैंकर र धितोपत्र दलाल कम्पनीलाई सञ्चित कोष अनिवार्य गर्दा सम्बन्धीत कम्पनी मात्र नभै समग्र धितोपत्र बजारलाई नै सर्पोट हुने देखिन्छ ।