स्प्रेड बढाउँदा पनि स्ट्याण्डर्ड चार्टर्डको नाफा ७ प्रतिशत मात्र सुधार

0
Shares

आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले निक्षेप र कर्जा बीचको ब्याज अन्तर (स्प्रेड) दर बढाउँदा पनि नाफामा सामान्य सुधार गरेको छ। गत आवको सोही अवधिको तुलनामा १.०९ प्रतिशतले स्प्रेड बढाउँदा बैंकले करिब ८ करोड रुपैयाँले मात्र नाफा बढाएको हो ।

गत आर्थिक वर्षको पुससम्ममा बैंकको स्प्रेडदर ४.८४ प्रतिशत रहेकोमा बढेर चालु आवको पुसम्ममा ५.९३ प्रतिशत पुर्याएको छ। बैंकले स्प्रेड बढाउनका साथै कस्ट अफ फण्ड समेत घटाएको छ । सो अवधिमा बैंकको आधार व्याजदर पनि घटेको छ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१२ प्रतिशतले धेरै हो ।

बैंकले गत आर्थिक वर्षको पुसम्ममा एक अर्ब १४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी ११ प्रतिशत बढाएको छ भने फि तथा कमिसन आम्दानी साढे ३ प्रतिशतले घटेको छ । बैंकको फि तथा कमिसन आम्दानी घट्नु तथा ब्याज आम्दानीमा सन्तोषजनक सुधार आउन नसकेपनि बैंकको नाफा ७ प्रतिशतले मात्र बढेको हो । त्यसका साथै बैंकको कर्मचारी खर्च पनि १६ प्रतिशत भन्दा धेरैले बढेपछि नाफा कम भएको बैंकले जनाएको छ।

पुसम्ममा बैंकले एक अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ४२ करोड ९४ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ। चालु आवको पुसम्ममा बैंकको निक्षेप ८० अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने कर्जा ५४ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

तर, बैंकको प्रतिशेयर आम्दानी भने सामान्य बढेको छ। गत आर्थिक वर्षको पुससम्ममा बैंकको प्रतिशेयर आम्दानी २८.५९ रुपैयाँ रहेको थियो भने चालु आवको सोहि अवधिमा बढेर ३०.६३ रुपैयाँ पुगेको छ।

चालु आवको पुसम्ममा खराब कर्जा सामान्य घटेको बैंकको मूल्य आम्दानी अनुपात भने १९.१३ प्रतिशत छ । गत आर्थिक वर्षको पुससम्ममा बैंकको खराब बर्जा ०.२ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ०.१७ प्रतिशतमा झरेको छ।

गत वर्षको तुलनामा चालु आवमा बैंकको कस्ट आफ फण्ड ५.१५ वाट ४.७७ मा आइपुगेको छ। सो अवधिमा बैंकको आधार ब्याजदर पनि ७.३३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आधार ब्याजदर ७.५५ प्रतिशत रहेको थियो।