२०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार यसैवर्ष गरिने छः सञ्चारमन्त्री डा. तिमिल्सिना


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको र विद्युत् तथा पावर ब्याकअपको अभावका कारण मोबाइल टावर लामो समय सञ्चालन हुन नसक्ने अवस्थालाई सुधार गर्न सरकारले नेपाल टेलिकमलाई विस्तृत कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइसकेको बताए ।

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नेपाल टेलिकमको नयाँ २०० वटा टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।

टेलिकमले देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न १ हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरणको बोलपत्र यसै साता प्रकाशित हुने क्रममा रहेको मन्त्री डा तिमिल्सिनाको भनाइ छ ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले देशभरका नेपाल टेलिकमका टावरमा पावर ब्याकअपको क्षमता बढाउने काम भइरहेको मन्त्री डा तिमिल्सिनाले बताए । उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६०० भन्दाबढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको छ । यसबाट विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा आठदेखि १० घण्टा तथा सहरी क्षेत्रमा चारदेखि छ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने उनले बताए । हाल करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको मन्त्री डा तिमिल्सिनाले जानकारी दिए । थप २०० थान ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रियामा रहेको उनले बताए ।

त्यस्तै, विद्यमान ३२ वटा सोलार साइटमा पावर ब्याकअप प्रणाली तथा सोलार प्रणालीको क्षमता वृद्धिकार्यका लागि भएको बोलपत्र सम्झौताको चरणमा रहेको मन्त्री डा तिमिल्सिनाले बताए । सम्भव भएसम्म सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

राष्ट्रिय विद्युत् प्रसारण नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटमा ब्याट्री, उपकरण तथा ब्याट्री जोड्ने तार चोरी हुने गरेको र कतिपय टावरमा भौतिक क्षति हुने गरेको मन्त्री डा तिमिल्सिनाले बताए । यस्ता घटनाका कारण दूरसञ्चार सेवामा पटक–पटक समस्या आउने गरेको उल्लेख गर्दै उनले दूरसञ्चार पूर्वाधारमा क्षति पु¥याउने तथा चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने बताए ।

भोटेकोशी बाढीबाट नेपाल टेलिकमको ८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिँदै मन्त्री डा तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा करिब ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको सदनलाई जानकारी गराए ।

रसुवा, नुवाकोट र धादिङमा रहेका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो । तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । पूर्णरूपमा क्षतिग्रस्त ती तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइसकिएको मन्त्री डा तिमिल्सिनाले बताए ।

तीन साइट तत्काल पुनःस्थापना गर्न नसकिए पनि आवश्यक स्थानमा वैकल्पिक टावर स्थापना गरी मोबाइल नेटवर्कको पहुँच कायम गरिएको उनको भनाइ छ । टिमुरेको टावरमा यही साता हेलिकप्टरमार्फत सोलार जडान गरी सेवा सञ्चालनमा ल्याइएको मन्त्री डा तिमिल्सिनाले जानकारी दिए ।

रसुवा, नुवाकोट र धादिङमा रहेको कुल ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकामा २७.४ किलोमिटर भइसकेको मन्त्री डा तिमिल्सिनाले बताए । वायरलाइन नेटवर्कअन्तर्गत रसुवा र नुवाकोटका तीनवटा ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भएका तथा केही एफटीटीएच नेटवर्कमा समेत क्षति पुगेकामा ती ओएलटीमध्ये अधिकांश पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

त्यस्तै, टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभमा क्षति पुगेको थियो । हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको मन्त्री डा तिमिल्सिनाले बताए ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  १६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।