विद्युतीय माध्यमबाट कारोबार गर्दा आजैदेखि करको दश प्रतिशत रकम फिर्ता पाइने

0
Shares

सरकारले विद्युतीय माध्यमबाट कारोबार गर्दा आजैदेखि करको दश प्रतिशत रकम तत्काल फिर्ता गर्ने भएको छ ।

सरकारले उपभोक्ताले मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम निजको बैंक खातामा फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले यो सेवाको शुभारम्भ गरेका हुन् । विभागबाट तयार गरिएको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेण्ट बैंकको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्कटको त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्यूरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरुबाट सुरु गरिएको विभागले जनाएको छ।

उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका फोनपे, इसेवा, खल्ती, सेल पे, कनेक्ट आइीपएस जस्ता भुक्तानी प्रणाली संचालक तथा भुक्तानी सेवा प्रदायक संस्थासंग आवद्ध बिक्रेता तथा उपभोक्ताहरुमा पनि लागू गरिएको छ ।

यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा एक हजारदेखि एक लाख सम्मको मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न सक्नेछन्। यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने अपेक्षा गरिएको छ।

साथै आजैदेखि करदाताहरुको बायोमेट्रिक सूचना दर्ता गर्ने कार्यको समेत शुभारम्भ गरिएको छ । जसमा प्राकृतिक व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्दा, एकल स्वामित्वको फर्मलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्दा व्यक्तिको बायोमेट्रिक सूचनाहरु लिई अभिलेखको रुपमा राखिने विभागको भनाई छ।

यो प्रणाली हाल आन्तरिक राजस्व कार्यालय टंगाल र नयाँ सडकबाट प्रारम्भ गरिएको छ र क्रमश: अन्य आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा विस्तार गरिनेछ ।

यो प्रणालीले करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्ने र हाल मूल्य अभिबृद्धि करमा दर्ता रहेका करदाताहरुको विवरण क्रमश: नयाँ दर्ता प्रणालीमा अद्यावधिक हुने विभागले जनाएको छ ।