मर्जरको सिनर्जी: तिनाउ मिसन बैंकको नाफा १५७ प्रतिशतले बढ्यो

0
Shares

तिनाउ मिसन डेभलपमेन्ट बैंक (TMDBL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा १० करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको छ। 

बैंकको नाफा गत वर्षको यसै अवधिको तुलनामा १५६.९१ प्रतिशत बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको संचालन नाफा समेत ५ करोड ८२ लाख बाट बढेर १४ करोड ३४ लाख पुगेको छ।

१४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १२ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले ३३ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको कर्जा, निक्षेप तथा ब्याज आम्दानीमा उल्लेखीय सुधार देखिएको छ।

एक अर्ब ६७ करोड चुक्ता पूँजी भएको बैंकमा जगेडा तथा शेयरधनीकोषमा गरी ५७ करोड ६ लाख रुपैयाँ छ।

जसको प्रतिशेयर आम्दानी १२.४९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३४.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.७७ गुणा छ। बैंकको खराब कर्जा भने ०.४६ प्रतिशतबाट बढेर १.८४ प्रतिशत पुगेको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी २०७६ मंसिर २२ गते देखी एकिकृत कारोवारको शुभारम्भ गरेको थियो। राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको यस विकास बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको छ।