भरतपुरमा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व संकलन


आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०\०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको हो ।

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व सङ्कलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व सङ्कलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

आयकरका लागि विभागले दुई अर्ब ९६ करोड ३८ लाख रुपैयाँ लक्ष्य तोकेको थियो । कार्यालयले दुई अर्ब ६३ करोड १६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले दुई अर्ब ३३ करोड ७२ रुपैयाँ लाख लक्ष्य तोकेकामा एक अर्ब ९५ करोड २२ लाख रुपैयाँ सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए ।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले २२ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख सङ्कलन गरेको हो । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । ६० करोड पाँच लाख रुपैयाँ लक्ष्य दिइएकोमा ४० करोड ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भट्टराईले बताए ।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो । उनले भने,“लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि सङ्कलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।” बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ । देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ ।

उनले भने,“घर जग्गा कारोबार कम हुँदा पनि राजस्व सङ्कलनमा कमी आएको हो ।” कार्यालयमा गत आगमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।