धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो


नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम २१ करोड ७३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा वितरण केन्द्रको औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापतको उक्त बक्यौता रकम पुगेको हो ।

आर्थिक वर्ष २०७९\८० भन्दा गत आवमा बक्यौता रकम एक करोड ६० लाख ५२ हजार रुपैयाँले बढेको वितरण केन्द्रका लेखा प्रमुख विनोद ढकालले जानकारी दिए।  आव २०७९\८० मा बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो ।

ढकालका अनुसार गत आवमा औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड ७८ लाख सात हजार तीन सय ७२ रुपैयाँ, घरायसी ग्राहकको चार करोड ४४ लाख ७६ हजार चार सय ७६ रुपैयाँ, सडकबत्तीको ११ करोड ३४ लाख १८ हजार तीन सय ८३ रुपैयाँ र अन्य ग्राहक तीन करोड १६ लाख ७६ हजार आठ सय तीन रुपैयाँ सङ्कलन गरिएको हो ।

गत आवमा महसुल नतिर्ने एक हजार नौ सय ६२ ग्राहकको लाइन काटिएको लेखा प्रमुख ढकालले जानकारी दिए। उनका अनुसार लाइन काटिएका ग्राहकको महसुल तिर्न बाँकी रकम पाँच करोड ५० लाख ८६ हजार चार सय १८ रुपैयाँ रहेकामा चार करोड ३३ लाख ५६ हजार पाँच सय रुपैयाँ असुली भएको छ ।

लेखा प्रमुख ढकालका अनुसार आव २०७९÷८० मा केन्द्रको औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१ रुपैयाँ ,घरायसी ग्राहकको पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९ रुपैयाँ, सडकबत्तीको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रुपैयाँ र अन्य ग्राहकको एक करोड ४२ लाख २२ हजार तीन सय ६७ रुपैयाँ थियो ।

“अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा केही बक्यौता रकम बढेको छ । वितरण केन्द्रले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली पनि गरेको छ”, लेखा प्रमुख ढकालले भने, “अन्य ग्राहकबाट रकम नियमित भुक्तानी भइरहेका छ । सडकबत्तीको बक्यौता रकम बढी छ ।” वितरण केन्द्रका अनुसार नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६५ दशमलव दुई प्रतिशत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।