वर्षासँगै बाढीपहिरोको कहर : ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध


मनसुन फेरि सक्रिय हुँदा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । सोमबार रातिदेखि नै परेको पानीका कारण देशका विभिन्न भेगमा बाढी र पहिरो जाने क्रम पनि बढेको छ ।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका कतिपय मुख्य सडकमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले मंगलबार बिहान १० बजे दिएको जानकारीअनुसार देशका विभिन्न ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।

प्रहरीका अनुसार कोसी प्रदेशमा दुइटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । तीमध्ये बाढीका कारण अवरुद्ध बनेको उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत संखुवासभाको मकालु गाउँपालिका–३ स्थित खण्ड वर्षा नसकिउन्जेल खुलाउन नसिकने प्रहरीले जनाएको छ ।

यस्तै, बाग्मती प्रदेशको दोलखा कालिञ्चोकस्थित चरिकोट सडकखण्ड पनि बाढीका कारण अवरुद्ध भएको छ । सो सडक खुलाउन करिब १ महिना लाग्ने प्रहरीले जनाएको छ । वर्षाका कारण गण्डकी प्रदेशका ३ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने लुम्बिनीका दुइटा र कर्णाली प्रदेशको एउटा सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

बाढी र पहिरोका कारण अवरुद्ध भएकामध्ये ५ वटा सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसैबीच, काभ्रेको धुलिखेलमा पहिरो जाँदा अरनिको राजमार्ग एकतर्फी अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका– ७ स्थित पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकभन्दा माथिबाट पहिरोसहित खसेको रुखले बिजुलीको तारसमेत चुँडाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पहिरोका कारण सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन् ।

कुन सडकको अवस्था कस्तो ?