चुलिँदै वैदेशिक ब्यापार घाटा : निर्यात कमजोर हुँदा दुई महिनामा २ खर्ब व्यापार घाटा व्यहोर्दै मुलुक


चालू आर्थिक वर्ष २०८१\८२ को दुई महीना अर्थात भदौसम्ममा मुलुकको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ नाघेको छ ।

साउनमा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख व्यापार घाटा व्यहोरेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा २ खर्ब २५ अर्ब ८३ करोड ३६ लाख रुपैयाँले बढेको हो । आयात नभई नहुने वस्तु र स्वदेशमै पर्याप्त सम्भावना भएका वस्तुमा समेत परनिर्भर हुँदा व्यापार घाटामा वृद्धि भएको जानकारहरु बताउँछन् ।

भदौसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा १.७८ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा नेपालले २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

भदौसम्ममा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

आयात बढ्यो, निर्यातमा गिरावट

चालु आर्थिक वर्षको दुई महीना अवधिसम्ममा आयात १.०८ प्रतिशतले बढ्दा निर्यात ५.१२ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार भदौ महिनासम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । जुन गत आवको तुलनामा १.०८ प्रतिशतले बढी हो ।

गत वर्षको यही अवधिमा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । त्यस्तै, यस अवधिमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । जुन गत आवको भन्दा ५.१२ प्रतिशतले कम हो ।

मूलुकले गएको वर्षको सोहि अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरेको थियो । विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा मूलकको निर्यात बढ्न नसकेको सरोकारवालाहरु बताउँछन् । व्यापार घाटा कम गर्ने एउटै उपाय निर्यात भएको विज्ञहरु तर्क छ । त्यसैले निर्यात बढाउनको लागि नेपालमा गुणस्तरीय वस्तु उत्पादनमा जोड दिनुको विकल्प नरहेको उनीहरुको भनाइ छ ।

मग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।