राष्ट्रिय वाणिज्य बैंकले सबै बैंकलाई उछिने पनि नाफा २० करोडले घट्यो

0
Shares

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा सबै वाणिज्य बैंकलाई पछि पारे पनि नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले कर्जाको ब्याजदर बढाएपनि अघिल्लो वर्षको भन्दा २० करोड अर्थात ८ प्रतिशत बढीले नाफा घटेको विवरण निकालेको छ । चालु वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । जबकी अघिल्लो वर्षको पुस मसान्तमा बैंककोे नाफा २ अर्ब ४० करोड थियो ।

१ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४७ अर्ब छ । कर्जा परिचालन गरेको छ । कर्जा र निक्षेपको आकार बढ्दा बैंकको ब्याज आम्दानी समेत बढेको छ।

बैंकले पुस मसान्तसम्ममा ५ अर्ब ३४ करोड खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकले ३ अर्ब ६ करोड संचालन मुनाफा गरेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९ करोड छ । ९ अर्ब चुक्ता पूँजी रहेको वाणिज्य बैंकसँग रिजर्बमा १२ अर्ब छ ।

बैंकको संचालन खर्च र खराब कर्जाको आकार बढ्दा ब्याज आम्दानी बढेपनि नाफा प्रभावित भएको हो। वाणिज्य बैंकको खराब कर्जा अनुपात पुसमसान्तसम्म ४.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३.४० प्रतिशत रहेको थियो।

बैंकले आधारदर ५.६० प्रतिशत बाट बढाएर ६.६० प्रतिशत पुर्याएको छ भने स्प्रेडदर ४.७८ प्रतिशत बाट ५.५३ प्रतिशत कायम गरेको छ। बैंकको पूँजीकोष अनुपात १३.१५ प्रतिशत रहेको छ ।

बैंकको कस्ट अफ फण्ड ४.०५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७२.६६ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४९.०७ रुपैयाँ कायम भएको छ ।