गण्डकी विकास बैंकको खुद नाफा ३९ करोड


चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गण्डकी विकास बैंकले ३९ करोड ३९ लाख रुपैयाँ को खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १४.६६ प्रतिशत अर्थात ४ करोड ९९ लाख रुपैयाँले धेरै हो । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३४ करोड ४ लाख कमाएको थियो ।

बैंकको कर्मचारी तथा अन्य खर्चमा वृद्धिभएपनि नाफाको वृद्धिदरमा कमी आएको भएपनि सुधारको क्रम भने रोकिएन । बैंकले १९ प्रतिशतले पूँजी बढाएको भएपनि आम्दानी विस्तारमा कमी आएपनि प्रति सेयर आम्दानीमा कमी आएको छ । यो अवधिमा बैंकको सञ्चित कोषको आकार २२ प्रतिशतले घटेपछि प्रतिशेयर नेटवर्थ पनि कमजोर बनेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ९३ पैसा छ । गत आवको यसै अवधिमा बैंकको इपिएस १९ रुपैयाँ ६९ पैसा रहेको थियो। यस्तै प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६६ पैसा, मूल्य आम्दानी अनुपात १०.०४ गुणा रहेको बैंकको बैंकको निष्कृय कर्जा अनुपात ०.७९ प्रतिशतमा सिमित रहेको छ ।

बैंकले दुई अर्ब ३० करोड ४९ लाखको चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँमा बढाउँदा एक अर्ब २९ करोड ९३ लाखको जगेडा कोषमा एक अर्ब ८१ लाखमा झरेको छ ।
चैत मसान्तसम्ममा २७ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २४ अर्ब १९ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ८५ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १५ करोड ४४ लाख रुपैयाँले वृद्धि भएको हो । गत वर्ष बैंकले ७० करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।