६ महिनामा ७३ अर्बको वैदेशिक सहायता प्रतिवद्धता

0
Shares

सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विभिन्न विकास आयोजना कार्यान्वयनको लागि ७२ अर्ब ९८ करोड २३ लाख बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको जनाएको छ ।

बजेटको अर्ध बार्षिक समीक्षाका क्रममा अर्थमन्त्री डा. युवाराज खतिवडाले उक्त अवधिमा १५ अर्ब ९ करोड ३१ लाख (२०.७ प्रतिशत) बराबरको अनुदान सहायता र ५७ अर्ब ८८ करोड ९२लाख (७९.३ प्रतिशत) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त भएको जानकारी दिए।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायताको प्रतिवद्धता १ खर्ब ७ अर्ब १७ करोड ८० लाख रहेको थियो। सो प्रतिवद्धतामा १३ अर्ब ४९ करोड ३० लाख (१२.६ प्रतिशत) बराबरको अनुदान र ९३ अर्ब ६८ करोड ५० लाख (८७.४ प्रतिशत) बराबरको सहुलियतपूर्ण ऋण रहेको थियो।

चालु आर्थिक वर्षको बजेटमा विकास सहायता अन्तर्गत अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख (१६.३ प्रतिशत) र ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख (८३.८ प्रतिशत) गरी जम्मा ३ खर्ब ५६ अर्ब ८२ करोड ८८ लाख परिचालन हुने लक्ष्य रहेको छ। यो कुल बजेटको २३.३ प्रतिशत हो। गत वर्षको भन्दा यस वर्षको वैदेशिक सहायता परिचालनको अनुमान १४.४ प्रतिशतले बढी रहेको छ।

अर्थमन्त्रालयका अनुसार विश्व बैंकबाट भूकम्प पश्चातको आवास पुनर्निर्माण आयोजनाका लागि करीब २२ अर्ब ६० करोड (२०० मिलियन अमेरिकी डलर) बराबरको थप ऋण सहायता सम्झौता सम्पन्न भएको छ।

विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनामा यूरोपियन लगानी बैंकबाट करीव १२ अर्ब द्धड करोड (१०० मिलियन यूरो) र सोही आयोजनामा एशियाली पूर्वाधार लगानी बैंकबाट करीव १२ अर्ब ६७ करोड (११२.३ मिलियन अमेरिकी डलर) बराबरको ऋण सहायता प्राप्त गर्न वार्ता सम्पन्न भएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयले जलविद्युत उत्पादन बिद्युत प्रशारण लाईन, शहरी पूर्वाधार, सडक, ग्रामीण विकास र स्थानीय पूर्वाधार निर्माणका लागि सहायता परिचालन गर्न निश्चित आयोजनाहरू पहिचान गरी दातृ निकायसँग छलफल जारी रहेको जनाएको छ ।