शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद बिक्रीका लागि तोक्यो बुक क्लोज

0
Shares

शिखर इन्स्योरेन्स (SICL) ले ३० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि यही फागुन १३ गते मंगलबार एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

जस अनुसार कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनका लागि फागुन १२ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

इन्स्योरेन्सले प्रति शेयर १०० अंकित मूल्यका ३१ करोड ७१ लाख ९३ हजार २ सय बराबरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्नेछ ।

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ। शिखर इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ । इक्रा एनपी आईपीओ ग्रेड ३ (प्लस) रेटिङले हकप्रदमा लगानी गर्न तुलनात्मक सकारात्मक स्थिति जनाउँदछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

शिखरले आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा २३ करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ९५ पैसा कायम गरेको छ । जसको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ १४ पैसा छ । हाल दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ११४२ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ।