कालिका लघुवित्तको ९ महिनापछि मंगलबारबाट शेयर कारोबार खुल्दै

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को फागुन ६ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला हुने भएको छ ।

जनसेवी लघुवित्तसँग मर्जर प्रकृयामा रहेका कारण लघुवित्तको गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो।

सोमबार नेप्सेले जनसेवी लघुवित्त वित्तीय संस्थाको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कालिका लघुवित्तको नाममा सूचीकरण गर्दै मर्जर प्रकृयाका कारण रोक्का रहेको कम्पनीको शेयर कारोबार फुक्का गरेको हो।

यससँगै एकीकृत लघुवित्तको चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ पुगेको छ। यसअघि कालिका लघुवित्तको १० करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको थियो। दुई लघुवित्त एक बराबर एक शेयर स्वाप रेसियोमा गाभिएका हुन्।

मर्जरपश्चात बनेको संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ। यस्तै लघुवित्तको रजिष्टर्ड कार्यालय वालिङ्ग–८, स्याङ्गजामा रहनेछ।

नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएपश्चात कालिका र जनसेवीले गत पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए। एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत पुस २ गते अन्तिम स्वीकृती दिएको थियो। यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्व गाभ्ने संस्थाले सकार्ने व्यहोर्ने गरी पुस ११ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।

शेयर कारोबार सुचारु भएसँगै ९ महिनादेखि बन्धक भएको लगानीकर्ताको सम्पत्ति खरीद बिक्री गर्न फुकुवा भएको छ । यससँगै दुई लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले राहत पाएका छन्।

गत बैशाख अन्ति साता आईपीओ जारी गरेको जनसेवी लघुवित्त नेप्सेमा सूचीकृत नभई कालिकासँग मर्जरमा रहेकाले कम्पनीको आईपीओ शेयर कालिका लघुवित्तको नाममा सूचीकृत भएर कारोबार खुला भएको हो।