बैंक अफ काठमाण्डूले पनि ऋणपत्र जारी गर्ने, बोर्डमा निवेदन

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले पनि दीर्घकालीन लगानीको स्रोत जुटाउन ऋणपत्र जारी गर्ने भएको छ । बैंकले नियामक निकाय धितोपत्र बोर्डमा एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख युनिट ऋणपत्र बिक्री गर्न निवेदन पेश गरेको हो।

बैंकले निष्काशनमा ल्याउन लागेको कूल १६ लाख इकाई ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत बराबरको ९ लाख ६० हजार इकाई बैंकले व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।र

दश वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ मा लगानी गर्ने आवेदकले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन्। जुन हाल मुद्दती निक्षेप पाइने ब्याजभन्दा बढी हो। मुद्दती निक्षेपमा हाल बैंकहरुले हाल ९ देखि अधिकतम १० प्रतिशतसम्म मात्र ब्याजदर दिइरहेका छन्।

ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक वित्तीय विवरण अनुसार बैंकको कर्जा निक्षेप अनुपात ७६.२३ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.८० प्रतिशत रहेको छ । थप लगानी विस्तार गर्न र काउन्टर साइक्लिकर बफर अनुसार पूँजीकोष वृद्धि गर्न पनि वाणिज्य बैंकहरुलाई हाल पूँजीकोषमा सुधार गर्नुपर्ने बाध्यता छ ।