४७ करोड ५५ लाखको आईपीओ ल्याउन लागेको एनआईसी एशिया लघुवित्तको नाफा ११ करोड माथि

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आवको ६ महिना अवधिमा ११ करोड १२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

सर्वसाधारणमा लघुवित्त क्षेत्रको ठूलो आईपीओ निष्काशनको तयारीमा रहेको लघुवित्तले गत आवको यसै अवधिमा ५ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले समीक्षा अवधिमा ९२.८२ प्रतिशतले नाफा बढोत्तरी गरेको हो।

चुक्ता पूँजी १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा रहेको छ । लघुवित्तको जगेडा कोषको आकार ५ करोड २१ लाख २६ हजार रुपैयाँबाट ३१९.८६ प्रतिशत अर्थात १६ करोड ६७ लाख ३१ हजार रुपैयाँले बढेर २१ करोड ८८ लाख ५७ हजार रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७९ करोड ४९ लाख रुपैयाँ निक्षेप तथा बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सापटी लिएको छ । लघुवित्तले यस अवधिमा ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेर २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको हो।

गत आवको यसै अवधिमा लघुवित्तले १३ करोड २ लाख खुद ब्याज आम्दानी गरेको थियो। लघुवित्तको सञ्चालन नाफा १६ करोड २६ लाख रुपैयाँ छ।

२०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको यस लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। केयर रेटिङ्गस् नेपालले लघुवित्तको आईपीओलाई ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ। ग्रेड ४ प्लस रेटिङ्गले लघुवित्तको वित्तीय अवस्था औषतभन्दा कम आधार रहेको जनाउँछ।