बलेफी हाईड्रोपावरले ३६ करोड ५५ लाखको आईपीओ जारी गर्ने

0
Shares

बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्काशन गर्नका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल, हिमालयन क्यापिटल र कुमारी क्यापिटलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे, सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरे ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजनाप्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८२ करोड ७९ लाख ७० हजार छ ।

कस्तो छ कम्पनी ?

वाग्मतीप्रदेश, सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको र कम्पनीले हालसम्म ८० प्रतिशत सम्मको निमार्ण कार्य सम्पन्न गरिसकेको छ।

आगामी २०७७ आषाढ सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जडान गरीबिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको कुल लागत जम्मा ६ अर्ब ७८ करोड रहेको (७०ः३०–कर्जा :पूँजी अनुपात) र प्रति मेगावाट १६ करोड ९० लाख रहेको छ । जुन औषतमा अन्य हाइड्रोपावर कम्पनीको लागत भन्दा कम रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२८ वर्ष र आयोजनाको डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १६.५९ वर्ष रहेको छ ।

इक्रा नेपालले यस कम्पनीले जारी गर्न लागेको आइपीओलाई ग्रेड फोर प्लस प्रदान गरेको छ । कम्पनीको औषत वार्षिक विद्युत उत्पादन राम्रो रहेको तथा आयोजनाको लागत कम रहेकोले सञ्चालनमा आएको पहिला ेवर्षमा नै लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ ।

हाइड्रोपावर क्षेत्रको एउटा राम्रो कम्पनीले बजारमा शेयर निष्काशनगर्दा पूँजीबजार तथा लगानीकर्ताहरुलाई फलदायीहुने कम्पनी तथा प्रत्याभूतिकर्ताले जानकारी गराएको छ ।