विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

0
Shares

लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ ।

ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले लमजुङ र कास्की जिल्लाको सिमानामा बग्ने रुदी खोलामा निर्माण गरेको ८.८ मेगावाट क्षमताको रुदी खोला ए र ६.६ मेगावाट क्षमताको रुदी खोला बी गरी कूल १५.४ मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा छन् ।

प्रवद्र्धक कम्पनीका अनुसार रुदी खोला ए जलविद्युत् आयोजनाले २०७५ साल चैत र रुदी खोला बी जलविद्युत् आयोजनाले यही फागुन ४ गतेदेखि व्यापारिकरुपमा विद्युत् उत्पादन शुरु गरिसकेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत रु १७ करोड ५० लाख छ ।

कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र शेयर प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटल लिमिटेड छन् । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ग्रेड चार दिएको छ । कम्पनीले शेयर बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका महाप्रबन्धक जनार्दन अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: ८ फागुन २०७६, बिहीबार  १५ : ३९ बजे