घोषणा कार्यक्रममै तोडियो महिला सहयात्रा र घरेलु लघुबित्तको मर्जर सम्झौता

0
Shares

मकवानपुरको महिला सहयात्रा लघुवित्तले काभ्रेको घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने लगभग सहमति बनिसकेको थियो । दुवै संस्थाले मर्जर तथा प्राप्ति सम्झौता गर्नका लागि आइतबार राजधानीको एम्बेसडर होटेलमा कार्यक्रम तय गरे।

मर्जर सम्झौता तथा घोषणाका लागि दुवै संस्था प्रतिनिधिहरु भेला भए र सम्झौताको कार्यक्रमलाई औपचारिक रुपमा अगाडि समेत बढाईयो। कार्यक्रममा दुवै तर्फका वक्ताहरुले आ आफ्नो धारणा समेत राखे ।

वक्ताहरुले धारणा राख्ने सिलसिला चलिरहदा केहि व्यक्तिहरुले मर्जर सम्झौता सम्बन्धीको सूचना मिडियासम्म पुर्याए । केही मिडियामा मर्जर सम्बन्धीका खबरहरु समेत छापिए। तर कार्यक्रम सम्पन्न हुन नपाई बीचमै मर्जर सम्झौता भंङ हुन पुग्यो।

मकवानपुर चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्राले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्झौताको तयारी गरेको थियो । तर सम्झौता हुन नपाई मर्जर प्रक्रिया भाँडिएको छ ।

किन भाँडियो सम्झौता ?

घरेलु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री अधिकारीले दुई संस्थाबीच मर्जर प्राप्ति सम्बन्धी प्रारम्भिक सहमति गर्नका लागि कार्यक्रम आयोजना गरिएको थियो । दुवै पक्षबीच छलफल भए पनि स्वाप रेसियो, संचालक समिति, मर्जरपछिको संस्थाको नाम लगायतका बिषयमा सहमति बन्न नसकेको बताए । मर्जर सम्झौता नटुङ्दै मिडियामा खबर पुगेको उनको भनाई छ।

महिला सहयात्रा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानान्धरले मर्जर सम्झौता गर्नकै लागि उपस्थित भएको तर सम्झौता स्थलमा घरेलु लघुबित्तले अनावश्यक वार्गेनिङ गरेपछि मर्जर सम्झौता हुन नसकेको बताईन ।

घरेलुका संचालकहरु मर्जर र प्राप्तिका बिषयमा प्रष्ट नरहेको, संचालक समितिमा प्रतिनिधित्व बढी खोजेको, मर्जर कमिटिमै छलफल नै नगरी मर्जर सम्झौता गर्न आएको देखियो । बोर्डका अध्यक्ष र कमिटिकाबीचमा नै छलफल नभएको पाइएपछि सम्झौता नगर्ने निर्णयमा पुगेको मानन्धरले बताईन ।