काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल ‘डाइभर्सन’ बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ‘ट्रयाक’ खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए। उनका अनुसार खोलाको बहाव घटेपछि चौकीडाँडामा किनारबाटै पुनः डाइभर्सन निर्माण गरिनेछ ।
रोशी खोलाको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा अस्थायी डाइभर्सन बगाउनुका साथै दाउन्ने–कालोपुल र चारसयबेँसीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । हाल जोखिमयुक्त स्थानमा एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ भने ती स्थानमा छिट्टै दुईतर्फी नै खुलाउने गरी काम भइरहेको कार्यालयले जनाएको छ ।
सडक खुलाउने सोमबार बिहानदेखि अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाउने काम थालिएको थियो ।









