अपि पावरलाई पहिलो चरणमा ४७ प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति


नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई विभिन्न चरणमा गरी हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने भएको छ । सोही अनुरुप पहिलो चरणमा कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ ।

कम्पनीले बोर्डमा २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि आवेदन दिएको थियो । विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई पहिलो चरणमा ४७ प्रतिशतले हुने ५६ लाख ७० हजार कित्ता बराबरको ५६ करोड ७० लाख रुपैंयाको हकप्रद निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।

अपि पावरले निर्माण सुरु गरेको ४० मेगावाट क्षमताकोे माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा हकप्रदबाट संकलन हुने पूँजी लगानी हुनेछ । अहिले अपिको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैंया छ । उक्त पूँजीको ४७ प्रतिशत हकपरुद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैंया पुग्नेछ ।

बोर्डबाट स्वीकृत भएको हकप्रद जारी गरि सकेर आगामी आर्थिक बर्षको सुरुवातसँगै ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको प्रगती विवरण सहित दोस्रो चरणमा हकप्रद निष्काशन गर्न कम्पनीले धितोपत्र बोर्डमा फेरी आवेदन दिनेछ । यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ ।

कम्पनीले ८.५ मेगावाट क्षमताको नौगड गाढ आयोजना तथा ८ मेगावाटको माथिल्लो नौगड गाढ आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।

हकप्रद निष्काशन प्रकृयामा रहेकोले गत आर्थिक वर्षको साधारणसभा आव्हान गर्न ढिलाई भएको कम्पनीले जनाएको छ ।