शेयरबजारमा बुलिस ट्रेण्ड कायमै, २८ महिना यता कै उच्च बिन्दुमा नेप्से

0
Shares

गत महिनादेखि सुधारउन्मुख देखिएको शेयरबजारमा बुलिस ट्रेण्ड कायमै रहँदा नेप्से सूचकमा उच्च सुधारको क्रम जारी रहेको छ भने कारोबारमा पनि उत्साह कायमै रहेको छ ।

फागुन १३ गते मंगलबार ४३ अंकले उकालो लागेको नेप्से २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेप्से ४३.०२ अंकले बढेर १५४५.१९ को बिन्दुमा पुगको छ । जुन २८ महिना यताकै उच्च बिन्दु हो । २०७४ कात्तिकमा नेप्से १५४५ को आसपासमा रहको थियो ।

मंगलबार बजार खुलेको केहिक्षणपछि ओरालो लागेको नेप्से २० अंकसम्म तल झरेको थियो । त्यसपश्चात ६३ अंकको सुधार आएको हो। नेप्से सूचकमा सुधार आउँदा कारोबार पनि उत्साहजनक भएको छ । मंगलबार १८० कम्पनीको झण्डै ३ अर्ब बराबरको शेयर किनबेच भएको छ ।

यसदिन कारोबारमा आएका सबै समूहका सूचक बढेका छन् । जीवन बीमा, अन्य, व्यपार, जलविद्युत तथा उत्पादनमुलक समूहमा उच्च वृद्धि देखिएको छ । सबैभन्दा धेरै हिमालयन डिष्टलरीको १६ करोड बढीको शेयर किनबेच भएको बजारमा नेपाल लाइफ, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतको उच्च कारोबार भएको छ ।

गुराँसलाइफ, हिमालयन डिष्टलरी, स्वदेशी लघुवित्त, युनिलिभर लगायतको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । अन्य दश कम्प्नीको शेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । सबैभन्दा धेरै शेयरमूल्य घट्ने दिव्यश्वरी हाइड्रोको तीन प्रतिशतले मात्र मूल्य घटेको छ।