शेयर बजारमा कहाँबाट आयो यति धेरै पैसा ? ३ दिन मै १० अर्बको कारोबार

0
Shares

करिब दुई वर्ष जति १ हजार १०० आसपासको बिन्दुमा घुमिरहेको शेयरबजारमा उच्च सुधारको क्रम जारी छ । पछिल्लो दुई महिनाको अवधिमा नै नेप्से सूचक ४०० अंक बढीले उकालो लागिसकेको छ ।

नेप्से सूचकमा सुधार मात्रै होईन कारोबारमा चमत्कारिक वृद्धि देखिएको छ । गएको साता ५ कारोबार दिनमा ११ अर्ब बढी कारोबार भएको नेप्सेमा यो साताको पहिलो तीन दिन मै १० अर्ब बढीको कारोबार भईसकेको छ ।

गत आइतबार ३ अर्ब ६० करोड बढीको कारोबार भएको बजारमा सोमबार ३ अर्ब ४१ करोड बराबरको कारोबार भएको थियो भने मंगलबार झण्डै ३ अर्ब अर्थात २ अर्ब ९९ करोड २१ लाख बढीको शेयर किनबेच भएको छ । यो साताको तीन दिनमा कारोबार रकम नै १० अर्ब नाघेको छ ।

  •  अनलाइनको प्रभाव कि कोरनाको असर !

शेयर बजारले बुलिस ट्रेण्ड समात्दा बजारमा लगानी गर्नेहरु बढ्छन् । लगानीकर्ताहरु बढ्दा शेयर कारोबारमा बढोत्तरी आउनु स्वभाविक हो ।यता नेप्सेका अधिकारीहरु भने अनलाइन मार्फत शेयर कारोबार गर्ने क्रम बढेकाले कारोबार रकममा सुधार आउन थालेको बताउँछन् ।

नेप्सेका अधिकारीहरुका अनुसार अहिले विदेशमा बस्नेहरुले समेत अनलाइन मार्फत शेयर किनबेच गर्न थालेका छन् । आफ्नै हातले आफुले चाँहेको समयमा आफुले चाहेको शेयर खरिदबिक्री गर्न पाँउँदा लगानीकर्ता अनलाइन प्रति आर्कषित हुँदै गएका छन् । सुरुका दिनहरुमा अनलाइनमा लगानीकर्ताहरु अभ्यस्त नहुँदा युजर आईडी लिएर पनि कारोबार गर्ने कम थिए । अहिले युजर आईडि लिएका अधिकांस लगानीकर्ता अभ्यस्त हुँदै गएको नेप्सेका अधिकारीहरु बताउँछन् ।

अहिले वित्तीय प्रणालीमा प्रशस्त तरलताको अवस्था पनि छैन तर शेयर बजारमा यति धेरै रकम कहाँबाट आइरहेको छ ? चासोको विषय पनि बनेको छ । वित्तीय प्रणालीमा लगानी योग्य रकम कम हुँदा अन्यत्र क्षेत्रमा जान नसकेको लगानी शेयर बजारमा आएको ब्रोकरहरु बताउँछन् । अहिले नयाँ लगानीकर्ता आउने र पुराना तथा संस्थागत लगानीकर्ताहरुले लगानी बढाउँदै लगेकाले कारोबार बढेको उनीहरुको तर्क छ । गएको बर्ष अधिकांस कम्पनीहरुले बोनस भन्दा पनि नगद लाभांश वितरण गरेकाले प्राप्त नगद लाभांश पनि शेयर बजारमै थप लगानी भएको उनीहरुको भनाई छ ।

बजारका ठूला लगानीकर्ताहरु भने शेयर ब्रोकरसँग रहेको मार्जिन लेन्डिङको पैसा पनि शेयर बजारमै प्रयोग हुन थालेकाले कारोबार बढेको बताउँछन् । ब्रोकरहरुलाई उपलब्ध सेटलमेन्टको रकम समेत चलायमान हुँदा कारोबारमा वृद्धि आएको हो । अर्कातर्फ लगानीकर्ताले तीन कारोबार दिन मै शेयर किनेको पैसा पाउने प्रविधिको विकास भएकाले पनि एउटै पैसा रोटेशन भईरहदा कारोबार बढेको हो ।

  • ठूला र संस्थागत लगानीकर्ता

बजारमा सुधार आउन थालेपछि सामूहिक लगानी कोष, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनीहरुले समेत लगानी बढाएको ब्रोकरहरु बताउँछन्। बैंकहरुले सहज कर्जा दिनुका साथै सहकारीको पैसा समेत बजारमा आएको आँकलनहरु हुन थालेका छन् । कतिपय लगानीकर्ताहरुले भने मार्जिन कारोबारको सुविधा समेत उपयोग गरेका छन् ।

शेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने हल्लाहरु फैलाएर बजारमा चलखेल गर्नेहरुले सुरुवातीका दिनमा सक्रिय देखिएका थिए तर यो हल्ला क्रमश: मत्थर हुँदै गएको छ। धितोपत्र बोर्डले बजार सुधारका लागि ल्याएका नयाँ नीतिहरुले पनि बजारको वृद्धिमा सहयोग पुर्याएको विश्लेषण पनि लगानीकर्ताहरुको छ ।

  • कोरोना भाइरसको प्रभाव

चीनबाट शुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी रुपमा फैलिदा त्यसको प्रभावले नेपाल चीनको व्यापार ठप्प हुँदा सो रकम शेयर बजारमा उपयोग भएको आंकलन पनि हुन थालेको छ। चीनबाट सामान आयत गर्नेहरु व्यापारीहरुले व्यापार ठप्प भएपछि अल्पकालका लागि शेयर बजारमा लगानी गरेको अनुमान गर्न थालिएको छ।

  • सुन छाडेर शेयर

नेपाली बजारमा सुनको भाउ आकासिएर प्रतितोला ८० हजार नाघेको छ । यस्तो बेलामा सुनमा लगानी गर्नेहरुको ध्यान समेत शेयर बजारमा तानिएको आँकलन गर्न थालिएको छ । सुनको भाउ बढ्दा सुनको कारोबार सुस्ताएको छ। शेयर बजार बढेको मौका छोपेर सुनका लगानीकर्ताहरु समेत शेयर बजारमा प्रवेश गरेको आंकलन गरिएको छ।

अकातर्फ घरजग्गाका कारोबारीहरु पनि शेयर बजारमा लागेको विश्लेषण समेत गरिन थालेको छ। बजार बढेको मौका छोपेर चारैतिर छरिएको रकम शेयर बजारमा एकीकृत हुन थालेपछि दैनिक तीन अर्ब बढीको कारोबार हुन थालेको जानकारहरु बताउँछन्।

  • उच्च सुधारले बजारमा जोखिम

तर, बजारमा उच्च अंकको निरन्तरको सुधार र न्यून करेक्सनले शेयर लगानीकर्ता होसियार हुनु पर्ने देखिन्छ । शेयर बजारमा वियर चक्र सकिएको विश्लेषण गरिएको भएपनि निरन्तर आएको उच्च सुधारले बजारमा जोखिम ल्याउने विषयमा पनि विश्लेषकहरु सहमत छन् ।

अहिले बढेको बजारमा लगानी गरेका कारोबारीले शेयर बिक्री गर्न थालेको खण्डमा साना लगानीकर्ता फस्ने जोखिम हुन्छ,”एक विश्लेषकले भने,“अहिलेको सुधारले जोखिम वढाएको हुँदा दिर्घकालीन सुधार हो भन्न सक्ने अवस्था छैन ।” शेयर बजारको सुधार दिर्घकालीन हुन्थ्यो भने निरन्तर उच्च अंकको सुधार नहुने उनको विश्लेषण छ ।