प्राइम बैंकले कैलाशलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

0
Shares

प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । गत साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो ।

गत असार २० गते प्राइम बैंकले कैलाश विकास बैंकबीच एक्विजिशन सम्बन्धी प्रारम्भिक समझदारी भएको थियो । प्राइमले कैलाश बैंकलाई १००ः९४ को शेयर स्वाप रेसियोमा गाभ्ने भएको हो।

यी दुई बैंकको मर्जरलाई राष्ट्र बैंकले गत असोज दोस्रो साता सैद्दान्तिक सहमति दिएको थियो । दुई बैंकबीच गत पुस ३ गते मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

पुस २५ गते सम्पन्न दुवै बैंकको साधारणसभाले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गराएर अन्तिम स्वीकृतिका लागि राष्ट्रबैंकसँग माग गरेका थिए ।

मर्जर सम्झौतापछि प्राइम बैंकले गत आर्थिक बर्षको मुनाफाबाट चुक्तापुँजीको १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो भने कैलाश पनि १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै दुवै बैंकले फागुन मिहनाभित्रै एकीकृत कारोबार गर्ने तयारी थालेका छन् ।

कैलाशलाई गाभेपछि प्राइम बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड र पुँजी कोष १९ अर्ब रुपैयाँ पुग्ने छ । त्यसैगरी, १ खर्ब २८ अर्ब निक्षेप र १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा पुग्नेछ ।

एकीकृत बैंकको देशभर २०० वटा शाखा सञ्जाल हुनेछन् भने काठमाडौंमा मात्रै ५० भन्दा बढी शाखा हुनेछन् । कैलाशलाई प्राप्तिपछि बैंकको नाम प्राइम कमर्सियल बैंक लिमिटेड रहेनछ र रजिस्टर्ड तथा कर्पोरेट कार्यालय काठमाण्डौको कमलापोखरीमा रहनेछ ।