कूल बजार पूँजीकरण हालसम्म कै उच्च, ४३ महिनापछि तोडियो पुरानो रेकर्ड

0
Shares

फोटो स्रोत:सटरस्टक डटकम

नेप्सेमा बुलिस प्रवृत्ति देखा पर्न थालेपछि शेयर बजारको आकार मापन गर्ने समग्र बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यसअघि २०७३ साउन १२ गते सबैभन्दा धेरै बजार पूँजीकरणको रेकर्ड रहेकोमा त्यसको ४३ महिनापछि सो रेकर्ड तोडिएको हो।

फागुन १५ गते बिहीबार नेप्से परिसूचक १ हजार ६३२ दशमलव १७ बिन्दुमा रहँदा यसअघि २०७३ साउन १२ गते नेप्से १ हजार ८८१ दशमलव ४५ बिन्दुमा रहेको दिन कायम पूँजीकरणको रेकर्ड तोडिएको हो।

बिहीबार कूल बजार पूँजीकरण २० खर्ब ८३ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ मापन भएको हो। यसअघि २०७३ साउन १२ गते बुधबार कूल बजार पूँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड ६० लाख रुपैयाँ रहेको थियो।

नेप्से २४९.२८ अंक तल रहँदा नै सो समय कायम भएको भन्दा बजार पूँजीकरण १२ अर्ब ६८ करोड ८६ लाख रुपैयाँले बढेको हो। बजार पूँजीकरण भन्नाले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको कूल बजारमूल्य हो। यसलाई सम्बन्धित कम्पनीको कूल शेयर संख्यालाई सो कम्पनीको अन्तिम कारोबार मूल्यले गुणा गरेर निकालिन्छ।

यस साता १८७ कम्पनीका ४ करोड ४९ लाख ४४ हजार कित्ता शेयर १८ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। जुन सातामा कारोबार संख्या, रकम, र कारोबार कित्तामा पनि नयाँ रेकर्ड हो। हालसम्म सातामै यति धेरै संख्या, कित्ता र रकममा कारोबार भएको थिएन।

गत साताको तुलनामा कारोबार रकम ६६.२३ प्रतिशतले बढेको छ। गत साता १८४ कम्पनीका २ करोड ५३ लाख ३३ हजार कित्ता शेयर ११ अर्ब २० करोड ५४ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका थिए। यस सातामा औषतमा दैनिक ३ अर्ब ७२ करोड ५३ लाख रुपैयाँको कारोबार भएको हो।

यस सातामा नेप्से परिसूचक १३.७७ प्रतिशत अर्थात १९७.६० अंकले बढेको छ । गत साताको बिहीबार १ हजार ४३४ दशमलव ५८ बिन्दुमा रहेकोमा यस साताको अन्तिम कारोबार दिन फागुन १५ गते बिहीबार १ हजार ६३२ दशमलव १७ बिन्दुमा पुगेको हो।

  • नेपाल लाईफको झण्डै १ अर्बको कारोबार

नेपाल लाईफको यस सातामा करिब १ अर्बको शेयर कारोबार भएको छ। यस कम्पनीको सबैभन्दा धेरै ८७ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसैगरि एनएमबि बैंकको ६५ करोड २७ लाख, हिमालयन डिष्टलरी ६५ कारेड १९ लाख, शिवम् सिमेन्टको ६१ करोड ६७ लाख, एनआईसी एशिया बैंक ५९ करोड ५१ लाख, नेपाल बैंक ४७ करोड ७१ लाख, शिखर इन्स्योरेन्स ४२ करोड ४४ लाख, प्रभु बैंक ४१ करोड ९६ लाख, ग्लोबल आईएमई बैंक ३९ करोड ५२ लाख, र नेको इन्स्योरेन्स ३८ करोड २१ लाख बराबरको शेयर कारोबार भएको हो।

यस सातामा कारोबार शिर्ष दश कम्पनीको ७ अर्ब ५१ करोड ७२ लाख भएको छ। यो कूल कारोबार रकम १८ अर्ब ६२ करोड ६६ लाख रुपैयाँको ४०.३६ प्रतिशत हुन आउँछ। यसअनुसार के भन्न सकिन्छ भने यस साता शिर्ष १० कम्पनीको कारोबार हिस्सा ४० प्रतिशत बढी रहेको देखिन्छ।

  • शिर्ष दश बजार पूँजीकरण हुने कम्पनी यस्ता छन्

साताको कारोबार भएको अन्तिम मूल्य र शेयर संख्याको गुणा गरेर कूल बजार पूँजीकरण निकाल्दा यस साता सदा झै नेपाल टेलिकमको बजार पूँजीकरण उच्च देखिएको छ। यस कम्पनीको बजार पूँजीकरण १ खर्ब ७ अर्ब ८५ करोड पुगेको छ।

यसैगरि नबिल बैंकको दोस्रो ठूला बजार पूँजीकरण रहेको छ । नबिल बैंकको कूल बजार पूँजीकरण ९६ अर्ब ३१ करोड, नेपाल लाईफ ८० अर्ब ४० करोड, एभरेष्ट बैंक ७४ अर्ब १६ करोड रहेको छ।

यसैगरि एनएमबि बैंकको कूल बजार पूँजीकरण ६९ अर्ब ४७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ६८ अर्ब ८२ करोड, स्ट्याण्डर्ड चार्टडको ६७ अर्ब ५ करोड, हिमालयन बैंक ६५ करोड ४१ करोड, एनआईसी एशिया ६४ अर्ब १३ करोड, र दशौं ठूलो बजार पूँजीकरण भएको ग्लोबल आईएमई बैंकको कूल बजार पूँजीकरण ५८ अर्ब ६ करोड पुगेको छ।