नेपाल राष्ट्र बैंकले पछिल्लो समय सम्पत्ति बजारमा देखिएको प्रवृत्तिले वित्तीय क्षेत्रमा थप जोखीम सिर्जना गर्नसक्ने सम्भावना रहेको बताएको छ ।
चालु आर्थिक वर्षको अर्ध बार्षिक समीक्षा सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा आएको सुस्तता र चीनमा देखिएको कोरोना संक्रमणको प्रभावले वित्तीय क्षेत्रमा थप जोखीम सिर्जना हुनसक्ने उल्लेख गरेको छ।
समष्टिगत विवेकशील नियमनको प्रभावकारी उपयोगका कारण वित्तीय स्थायित्व कायम रहेको भएतापनि पछिल्लो समय सम्पत्ति बजारमा देखिएको प्रवृत्तिले वित्तीय क्षेत्रमा थप जोखीम सिर्जना गर्नसक्ने सम्भावना छ । राष्ट्र बैंकको समीक्षामा भनिएको छ।
विश्व अर्थतन्त्रमा आएको सुस्तता र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्राष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको केन्द्रीय बैंकको विश्लेषण छ । पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना रहेको छ।
छिमेकी मुलुक लगायत विश्व अर्थतन्त्रमा आएको सुस्तता, विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि प्रभावित हने देखिएको राष्ट्र बैंकको भनाई छ।
तथापि, राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा अपनाइने तदारुकता तथा प्रदेश एवं स्थानीय तहमा हुने विकास-निर्माणका कारण निर्माण एवं सेवा क्षेत्रका क्रियाकलाप विस्तार भई उच्च आर्थिक वृद्धिको प्रवृत्तिलाई निरन्तरता दिन मद्दत पुग्ने अनुमान गरेको छ।
छिमेकी मुलुक भारतमा समेत खाद्यान्न मूल्य वृद्धिको दबाब कायमै रहेको र अन्तर्राष्ट्रिय स्तरमा देखिएको मुद्रास्फीतिका कारण नेपालमा समेत मुद्रास्फीतिको चाप कायमै रहने राष्ट्र बैंकले आफ्नो समीक्षामा उल्लेख गरेको छ।












प्रतिक्रिया