नेपालीको थाप्लोमा प्रतिव्यक्ति ३७ हजार ऋण,सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब

0
Shares

चालु आर्थिक वर्षको माघ महिनासम्मको नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ ।

अर्थ मन्त्रालयले मुलुकको वर्तमान आर्थिक परिदृष्य सार्वजनिक गर्देे चालु आर्थिक वर्षको सात महिनासम्मको अवधिमा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको जनाएको छ।

त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको तथा ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ बाह्य ऋण रहेको अर्थमन्त्रालयले जनाएको छ।

नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई हालको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा ३७ हजार ३ सय रुपैयाँ ऋण पर्न आउँछ।

चालु आर्थिक वर्षको ७ महिनामा सरकारले २५ अर्ब ५० करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ २ अर्ब ४० करोड रुपैयाँ साँवा र १० अर्ब ६५ करोड रुपैयाँ ब्याज तिरेको छ। यस्तै बाह्यतर्फ १० अर्ब ३२ करोड रुपैयाँ साँवा र २ अर्ब १३ करोड रुपैयाँ ब्याज तिरेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार गत माघ मसान्तसम्मा एक खर्ब ९ अर्ब २८ करोड बराबरको वैदेशिक सहायत प्रतिवद्धता प्राप्त भएको छ। जसमध्ये १६ अर्ब २० करोड अनुदान र ९३ अर्ब ८ करोड ऋण रहेको अर्थले जनाएको छ। अर्थमन्त्रालयका अनुसार उक्त सहायत प्रतिबद्धतामध्ये १४.८२ प्रतिशत अनुदान र ८५.१८ प्रतिशत ऋण हो।