विश्वका चर्चित शेयर बजारहरुमा कति समय कारोबार हुन्छ ? विवरण सहित

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चैत्र २ गते आइतबारदेखि शेयर कारोबार अवधि चार घण्टाबाट बढाएर पाँच घण्टा कायम गरेको छ। यसै अवस्थामा विश्वका अन्य स्टक एक्सचेञ्ज कति समय खुल्छन् भन्ने जिज्ञाशा सवत्र रहेको छ ।

हेरौं विश्वका स्टक एक्सचेञ्जहरु कति समयसम्म खुल्छन् ?

विश्व परिवेशका आधारमा हेर्ने हो भने नेपालमा हाल कायम गरिएको पाँच घण्टा अवधि पनि विश्वमा सञ्चालनमा रहेका अन्यको तुलनामा कम नै देखिएको छ । विश्वमा सञ्चालनमा रहेको तथ्याङ्क हेर्ने हो भने औसतमा साढे ६ घण्टा शेयर कारोबार हुने गरेको देखिएको हो। विश्वमा अधिकतम १२ घण्टासम्म सञ्चालन हुने गरेका छन्

विश्वका चर्चित स्टक बजारहरुमा जर्मनको फ्याङफर्ट स्टक मार्केट सबैभन्दा लामो समय खुल्ने गरेको छ। यो दैनिक १२ घण्टा खुल्ने गरेको छ। त्यसपछि स्वीजरल्याण्डको स्वीज एक्सचेञ्ज दैनिक साढे ९ घण्टा खुल्ने गरेको छ ।

लण्डन स्टक एक्सचेञ्ज साढे ८ घण्टा खुल्ने गरेको छ । सन्सारकै पुरानोमध्येको एक यो स्टक एक्सचेन्ज सन् १८०१ मा स्थापना भएको थियो । यसमा ७० देशमा तीन हजार भन्दा बढी कम्पनीको शेयर कारोबार हुन्छ ।

सिंगापुर मलेसीया, र दक्षिण अफ्रिकाका स्टक मार्केटहरु दैनिक ६ देखि ७ घण्टा खुल्ने गरेका छन । यस्तै अमेरिकाको न्यूओर्क स्टक एक्सचेन्ज र नास्ड्याक स्टक एक्सचेन्ज साढे ६ घण्टा खुल्ने गरेका छन्।

भारतको बम्बई स्टक एक्स्चेन्ज साढे ६ घण्टा र नेशनल स्टक एक्सचेन्ज ५ घण्टा ४५ मिनेट सञ्चालन हुने गरेका छन्। जापानको टोकियो स्टक एक्सचेन्ज भने साढे दुई घण्टा सञ्ंचालन भएपछि १ घण्टाको ब्रेक हुने गरेको छ। त्यसपछि पुन साढे २ घण्टा कारोबार हुने गरेको छ।

विश्वको ठूलो अर्थतन्त्र बन्ने तयारीमा रहेको चीनको सांघाई स्टक एक्सचेन्ज पनि ४ घण्टा खुल्ने गरेको छ।

नेपालमा बजार खुल्ने विश्वको औसत समयभन्दा कम

विश्व बजारका स्टक मार्केटहरुमध्ये अझै पनि नेप्से खुल्ने समय कम नै रहेको देखिएको हो। बढाइएको समयअनुसार पनि विश्वको स्टक एक्सचेञ्ज खुल्ने समयको औसत भन्दा नेपालको स्टक एक्सचेञ्ज १ घण्टा ३० मिनेट कम खुल्नेछ।

सार्वजनिक विदाका दिनहरुमा बन्द रहने नेपालको स्टक मार्केट हप्तामा ५ दिन दैनिक ४ घण्टा खुल्दै आएको छ ।

यसअघि दैनिक ३ घण्टा १२ बजेदेखि ३ बजेसम्म मात्र खुल्ने गरेको थियो। नेप्सेले २०७३ साउन २ गतेबाट कारोबार अवधि ३ घण्टाबाट बढाएर चार घण्टा कायम गरेको थियो। नेप्सेले आफ्नो कारोबार खुल्ला गरेको २३ वर्षसम्म दैनिक ३ घण्टा कारोबार संचालन गरेको थियो। ७३ साउन यता ४२ महिनापछि पुन कारोबार समय बढाएको हो।

चैत्र २ गते आइतबार बाट नेप्सेमा प्रारम्भिक कारोबार १० बजेर ३० मिनेटपछि सुरु हुनेछ । ११ बजदेखि ४ बजेसम्म नियमित कारोबार र ४ बजेर ५ मिनेटसम्म अन्तिम कारोबार हुनेछ।

नेपालको शेयर बजारमा विदेशी तथा गैरआवसीय नेपालीलाई लगानीका लागि बाटो खुलिसकेको छैन । विदेशमा भने जसले जहाँ पनि स्रोत खुलेको रकमबाट शेयर बजारमा लगानी गर्न सक्छन् । जसले गर्दा पनि त्यहाँका स्टक एक्सचेन्चहरु लामो समयसम्म खुल्ने गरेका छन्।