शेयर बजारमा पहिरो चल्दा कारोबार समेत निरन्तर खुम्चिँदै

0
Shares

अघिल्लो दिन सामान्य बढेको शेयर बजारमा मंगलबार पुन: गिरावट आएको छ। कोरना भाईरसका कारण विश्व अर्थतन्त्र संकटतर्फ उन्मुख भईरहँदा यसको प्रभाव नेपालमा समेत देखिन थालेपछि शेयर बजार घट्न थालेको हो।

फागुन १५ गते सबैभन्दा उच्च बिन्दु (१६३२) लाई आधार मान्ने हो भने पछिल्लो ११ कारोबार दिनमा शेयर बजार ९० अंकले बढ्दा ४४३ अंकले ओरालो लागिसकेको छ । बजारको वृद्धि भन्दा गिरावट उच्चदरले भएकाले पनि आगामी दिनमा बजार फर्कनेमा लगानीकर्ता विस्वस्थ हुन सकेको देखिँदैनन्। बढ्दा थोरै अंकले बढ्ने र घट्दा धेरै अंकले घट्ने भईरहदा बजार अझै घट्ने आंकलनहरु हुन थालेका छन्।

धेरै घट्दै थोरै बढ्दै, कारोबार रकममा पनि ओरालो

बजार निरन्तर घटेपछि कारोबार रकममा समेत शिथिलता देखिन थालेको छ भने सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन्। कोरोनाका कारण तत्काल कुनै समस्या नदेखिएपनि आगामी दिनमा अर्थतन्त्रमा संकुचन आउने र बैंक तथा वित्तीय संस्थाहरु समेत प्रभावित हुनसक्ने आंकलनमा लगानीकर्ता पुग्दा त्यसको नकारात्मक प्रभाव शेयर बजारमा देखा परेको हो ।

 

मंगलबार पनि नेप्से सूचक ४४.३३ अंकले घटेर १२७२.०६ अंकमा झरेको छ। १७५ कम्पनीको १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा म्युचुअल फण्ड बाहेक सबै समूहका सूचक ओरालो लागेका छन्। यसदिन कारोबारमा आएकामध्ये ९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ। कारोबार रकम समेत अघिल्लो दिनको भन्दा १६ करोडले घटेको छ।

जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्स्योरेन्स, नेपाल सेवा, स्वाभिमान लघुवित्त, नेपाल इन्स्योरेन्स, र युनाईटेड इन्स्योरेन्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।