कर्जाको ब्याजदर घट्दो क्रममा, निक्षेपको बढ्न थाल्यो

0
Shares

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले ऋणीबाट उठाउने व्याजदर घटेको छ भने बचतकर्ताको ब्याजदर बढ्दै गएको छ। राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो।

अघिल्लो माघको तुलनामा गत माघमा बैंकहरुको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको छ । अघिल्लो माघमा ९.६९ प्रतिशत रहेको बैंकहरुको आधार ब्याजदर ९.४५ प्रतिशत कायम भएको छ।

अनिवार्य नगद अनुपात (सीआरआर) वैधानिक तरलता अनुपात (एसएलआर) निक्षेप लागत र प्रशासनिक खर्च जोडेर आधारदर तय गरिन्छ।

आधार दर घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर १२.३४ प्रतिशत बाट घटेर ११.९४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको तुलनामा कर्जाको औसत ब्याजदर ०.४ प्रतिशत विन्दुले घटेको छ । आधारदर कम भएपछि ब्याजदर पनि घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले निक्षेपमा तिर्ने ब्याज दर भने बढेको छ। अघिल्लो माघसम्म ६.६७ प्रतिशत औषत निक्षेपको ब्याज थियो भने यसपाली बढेर ६.७८ प्रतिशत पुगेको छ। निक्षेपकर्ताले पाउने ब्याजदर ०.१ प्रतिशत विन्दुले बढेको हो। केन्द्रीय बैंकको नीतिका कारण ब्याजदरमा स्थायित्व आउनुका साथै कर्जा र निक्षेपमा सन्तुलन कायम भएको राष्ट्र बैंकको भनाई छ।

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको ब्याजदर भने बढेको छ । अघिल्लो माघमा ९१(दिने ट्रेजरी विल्सको भारित औषत ब्याजदर ३.४४ प्रतिशत रहेकोमा गत माघमा ३.९१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर(बैंक कारोबारको भारित औषत ब्याजदर ५.७९ प्रतिशत बाट घटेर ४.५९ प्रतिशत कायम भएको छ।