सेञ्चुरी बैंकका शेयरधनीले गत वर्षको लाभांश पाउन अझै कुर्नुपर्ने

0
Shares

सेञ्चुरी बैंक (CCBL) का शेयरधनीले गत वर्षको लाभांश पाउन अझै कुर्नुपर्ने भएको छ। लाभांश प्रस्ताव पारित गराउन बैंकले डाकेको साधारण सभा अनिश्चितकालका लागि स्थगित भएपछि लाभांश पाउन अझै लामो समय कुर्नुपर्ने भएको हो।

बैंकले चैत १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेका लागि बोलाएको ९ औं वार्षिक साधारण सभा स्थगित भएको जनाएको छ।

विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणका रोक्न भन्दै सरकारले चैत ५ गते कुनैपनि सार्वजनिक स्थानमा २५ जना वा सो भन्दा बढी व्यक्ति जमघट हुन रोक लगाउने निर्णय भएपछि बैंकले अर्को सूचना प्रकाशन नभएसम्मका लागि साधारण सभा स्थगित भएको जनाएको हो।

सभामा बैंकले गत वर्षको नाफाबाट ६.७५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव राखेको थियो। बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २% बोनस र कर प्रयोजन समेत गरी ४.७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंकको साधरण सभामा ढिलाई हुने भएपछि बैंकका शेयरधनीले गत आर्थिक वर्षको लाभांश पाउन अझै कुर्नुपर्ने भएको छ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । बोनस पश्चात पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ । सभा प्रयोजनका लागि बैंकले फागुन ३० गते बुक क्लोज गरेको थियो। फागुन २९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।

यस्तै, अपि पावर कम्पनीले पनि १६ औं वार्षिक साधारण सभा स्थगित गरेकोे छ। कम्पनीले चैत ७ गते शुक्रबार कार्की बैंक्वेट माइतिघरमा बिहान ११ बजे आह्वान गरेको थियो।