धितोपत्र बोर्डका अध्यक्ष गभर्नरको दौडधुपमा लाग्दा शेयर बजार अस्तव्यस्त भएको आरोप


केही दिन अघि दोस्रो बजारमा एक घण्टा समय थप गर्ने निर्णय धितोपत्र बोर्डले गर्यो । लगानीकर्ताहरुले त्यस समयमा आवश्यक छलफल र परामर्श नगरी कोरोना भाइरसको विपद निम्तिन लागेका बेला समय बढाइएको भन्दै बिरोध जनाए ।

हाललाई परीक्षणका रुपमा मात्र कार्यान्वायनमा ल्याइएको भनिए पनि दुरदर्शीताको अध्ययन नगरी बोर्डका अध्यक्षले गरेको हठातको निर्णय भन्दै चौतर्फी रुपमा यसको बिरोध भैरहेको छ । कार्यान्वायनका क्रममा पनि सम्बद्ध पक्षहरुले बोर्डका अध्यक्षको निर्णयलाई सहज रुपमा लिन सकेनन् । नियामक निकायको निर्देशन भन्दै बाध्यात्मक अवस्थामा कार्यान्वायनलाई मात्र ध्यान दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्विी नेपालको कार्यकाल पुरा भएसँगै अहिले राष्ट्र बैंक कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा छ । गभर्नर बन्नका लागि सबै दौड धुपमा लागिरहेका बेला बोर्डका अध्यक्ष ढुङ्गाना पनि गभर्नरको दौडमा छन् । जसका कारण उनले बोर्डमा कुनै पनि किसिमका ठोस निर्णय गर्न सकिरहेका छैनन् । जसको पछिल्लो उदाहरण आइतबारको शेयर बजार बनेको छ ।

बजारका लगानीकर्ता तथा सम्बद्ध पक्षहरु बोर्ड अध्यक्ष गभर्नर बन्नका लागि दौडधुपमा रहेकाले कुनै ठोस निर्णय गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आक्रोसित बनेका छन् । ढुङ्गानाले गभर्नर बन्नका लागि मन्त्रालय रुझाउन कुनै पनि किसिमको निर्णय नगरेकोमा प्रश्न आफैतिर खनिएको छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यक बाहेकका सेवालाई तत्काल केही समयका लागि आवश्यक्ता अनुसार सञ्चालन नगर्ने उद्घोष गरे ।

सो लगत्तै सेवाहरु बन्द हुने क्षेत्रका उच्च निकायहरुले मातहतका निकायसँग समन्वय गर्दै आवश्यक्ता अनुसार सेवाहरु बन्द गर्ने वा सुचारु राख्ने निर्णय कार्यान्वायन गराइरहेका छन् ।

तर धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना भने मातहतका निकायसँग कुनै पनि किसिमको समन्वय नगरी प्रधानमन्त्रीको सम्बोधन नै अन्तिम भएको भन्ने शैलीमा शेयर बजारलाई कसरी अघि लैजाने भन्ने निर्णय गर्नबाट चुके । जसका कारण उनको नेतृत्व कमजोर बनेको आभाष शेयर दलाल, मर्चेण्ट बैंकरका साथै सम्बद्ध पक्षहरुले गरेका छन् ।

बोर्डका कर्मचारी मात्र नभई नेपाल स्टक एक्सचेञ्ज, दलाल व्यवसायी, मर्चेण्ट बैंकरहरुले पनि बजार सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा शसिनबार ठोस निर्णय दिनका लागि बोर्ड अध्यक्ष ढुङ्गानालाई तोकता गरिरहे । तर उनले सबै पक्षबाट आएको जिज्ञासालाई नसुने झैं गरी कुनै पनि निर्णय गर्न आवश्यक ठानेनन् । फलतः आइतबार शेयर बजार खुले पनि बोर्डले नै अनुमति दिएका अधिकांस शेयर दलाल तथा मर्चेण्ट बैंकरहरुले बजार सम्बद्ध कामलाई ठप्प पारे ।

बजार सञ्चालनको विषयमा बोर्ड अध्यक्षले मातहतका निकायलाई मार्गनिर्देश गर्न नसके पछि पछि मन्त्रालयले उनको कार्यसम्पादनमा प्रश्न उठाएको छ । आइतबार बिहानसम्म शेयर बजार खुल्ला राख्ने कि बन्द गर्ने भन्ने निर्णय गर्न बोर्डका अध्यक्ष ढुङ्गाना असमर्थ भएकै कारण आम लगानीकर्ता पनि अन्यौलमा परेका छन् । यस्तो अवस्थाका बिच शेयर दलालहरु दुई पक्षमा विभाजन भएका छन्, भने राफसाफको काम पनि अन्यौलमा परेको छ ।

निक्षेप सदस्यहरुले प्रधानमन्त्रीको सम्बोधनलाई नै अन्तिम निर्णयका रुपमा लिएर कारोबार राफसाफको काम पूर्ण रुपमा बन्द गरेका छन् ।

अर्कातिर ३५ शेयर दलालहरुले ब्रोकर कार्यालय पूर्ण रुपमा बन्द गरिसकेका छन् भने १५ कार्यालय तथा कारोबार प्रणाली सुचारु राखेका छन् । यो अवस्थामा भएको कारोबारको राफसाफ अनि गत साताको बुधबार र बिहीबार भएको कारोबारको राफसाफ नहुने चिन्ताले सबैजसो शेयर दलालहरु नियामक निकाय धितोपत्र बोर्ड तथा फ्रण्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज धाइरहेका छन् । तर यसो नै गर्नु भन्ने ठोस जवाफ कतैबाट पाउन सकिरहेका छैनन् ।

नेप्सेका कर्मचारी पनि बजारलाई कुन मोड दिने भन्नेमा धितोपत्र बोर्डको निर्णय पर्खिएर बसिरहेका छन् । यो अवस्थामा उनीहरुले शेयर दलालहरुलाई आफु पनि नियामक निकायको नियमनमा रहेकाले कुनै निर्णय गर्न नसक्ने अवस्थामा रहेको भन्दै फर्काउन थालेका छन् । नोटबजारसँ कुरा गर्दै नेप्सेका एक कर्मचारीले भने, ‘हामी कर्मचारीको भुमिकामा रहेर कुनै निर्णय गर्न सक्दैनौं, भगवान भरोसामा चलिरहेका छौं । नत धितोपत्र बोर्डले केही भनेको छ न त हाम्रो सञ्चालक समितिले नै के गर्ने भनेको छ ? यो अवस्थामा हिजो जे गरिरहेका थियौं, आज पनि त्यसैलाई निरन्तरा मात्र दिएका हौं ।’

सबै क्षेत्रले बन्द हुने वा सेवा सुचारु राख्ने भन्ने निर्णय गर्दै गर्दा शेयर बजारमा अन्यौलता बढ्दै गए पछि अर्थ मन्त्रालयले बजारसम्बद्ध सबै पक्षहरुलाई बोलाएर आइतबार मन्त्रालयमा छलफल  गरेको छ । छलफलका क्रममा बजारका सम्बन्धमा आवश्यक निर्णय गरि कार्यान्वायन गर्नका लागि बोर्डले मन्त्रालयको मुख ताकेको भन्दै आलोचना भएको छ ।

छलफलका क्रममा अर्थमन्त्री डा. युबराज खतिवडाले धितोपत्र बोर्ड अध्यक्ष ढुङ्गानालाई बजार सञ्चालनको निर्णयमा मन्त्रालयको मुख ताकेको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतले नोटबजारलाई बतायो । बजारको प्रमुख निकायका रुपमा रहेर अन्यौलता हटाउन नसक्नुमा धितोपत्र बोर्डका अध्यक्षको कमजोरी रहेको औंल्याइएको छ । छलफलका क्रममा ढुङ्गानाले बजार सञ्चालनमा के गर्ने भन्ने निर्णय नेप्सेले गर्छ भनेर आफूले कुनै निर्णय नगरेको भन्दै पन्छिन खोजेका थिए । जवाफमा अर्थमन्त्री खतिवडाले उनलाई आफैंले निर्णय लिएर अघि बढ्न निर्देशन दिएका छन् । विद्यमान कानुन र नीतिगत व्यवस्थाका आधारमा निर्णय गरी अघि बढ्न अर्थमन्त्री खतिवडाले निर्देशन दिएका छन् ।